रणभूमी सम्वाददाता सोमबार, जेठ ०४, २०८३
विराटनगर / सामाजिक क्षेत्रमा सक्रिय नव अभियान नेपाल, विराटनगरको आयोजनामा “शिक्षामा सहयोग कार्यक्रम” अन्तर्गत विशेष समारोहबीच छात्रवृत्ति वितरण गरिएको छ।
कार्यक्रममा आर्थिक रूपमा विपन्न, असहाय, निमुखा तथा गरिब परिवारका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ। छात्रवृत्ति प्राप्त गर्नेहरूमा मिल्स माध्यमिक विद्यालयका १० जना विद्यार्थी तथा सीमावर्ती (बोर्डर) क्षेत्रबाट संस्थाले सुरक्षित उद्धार (इन्टरसेप्ट) गरेका २ जना बालबालिका रहेका छन्।
छात्रवृत्ति वितरण कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष उद्धव भुजेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुजेलले नव अभियान नेपालले शिक्षा तथा मानव बेचबिखन रोकथामका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले वडा कार्यालयको तर्फबाट संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी र सहयोगमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। साथै, संस्थालाई प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वृन्दा लावतीको विशेष उपस्थिति रहेको थियो। विद्यालय परिवारको तर्फबाट बालबालिकाको उज्ज्वल भविष्यका लागि संस्थाले गरेको योगदानको कदर गर्दै नव अभियान नेपाललाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
जोखिममा परेका तथा विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ।