रणभूमी सम्वाददाता सोमबार, जेठ १८, २०८३
सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिका–५ स्थित दशगजा क्षेत्र नजिकबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको ठूलो परिमाणको स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ।
सुनसरी भन्सार कार्यालय, कोशी ब्युरो सुनसरीलाई पठाइएको प्रतिवेदन अनुसार जेठ १७ गते बिहान करिब ९ः१५ बजे विशेष सूचनाको आधारमा नेपाल सीमा सुरक्षा गुल्म हरिनगरबाट सशस्त्र प्रहरी उपरीक्षक किशोर प्रसाद महतोको कमाण्डमा खटिएको टोलीले देवानगञ्ज–५ स्थित पालाटोल नजिक परमआनन्द गोढीको गोठमा छापा मारेको थियो।
छापामार क्रममा उक्त स्थानमा भण्डारण गरी भारततर्फ निकासी गर्न तयारी अवस्थामा राखिएको ६० कार्टुन स्याउ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद स्याउको कुल तौल १,३०३ किलोग्राम रहेको छ।
प्राप्त विवरणअनुसार स्याउको प्रतिकिलो मूल्य ३० रुपैयाँका दरले कुल मूल्य रु. ३ लाख ९० हजार ९ सय आँकलन गरिएको छ।
बरामद गरिएको स्याउ आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।