२६ जेठ २०८३, मंगलबार
Tags

सुरक्षित चालक अभियान सञ्चालन : विराटनगरका सिटी सफारीलाई व्यवस्थित र सुरक्षित बनाउने पहल

रणभूमी सम्वाददाता मंगलबार, जेठ २६, २०८३

विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सिटी सफारी (सिटी रिक्सा) हरूको बढ्दो अव्यवस्था र दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले “सुरक्षित चालक” नामक विशेष अभियान सञ्चालन गरेको छ।

ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने, भारतीय नागरिक समेतले अवैधरूपमा सिटी सफारी सञ्चालन गर्ने, ट्राफिक नियमको जानकारी तथा पालना नगर्ने, अनुभवहीन चालक, अव्यवस्थित पार्किङ, ओभरलोड, तीव्र गति तथा मादक पदार्थ सेवन (मा.प.से.) र लागूपदार्थ सेवन (ला.प.से.) गरेर सवारी चलाउने जस्ता कारणले सिटी सफारी असुरक्षित बन्दै गएको जनाएको छ।

यस्ता गतिविधिका कारण सिटी सफारी सम्बन्धी दुर्घटना बढ्दै गएको र चालक, यात्रु, पैदलयात्री तथा अन्य सवारी प्रयोगकर्ताको जीवनमा गम्भीर जोखिम सिर्जना भएको भन्दै ट्राफिक प्रहरीले सुरक्षित, अनुशासित, जिम्मेवार र मर्यादित सवारी सञ्चालनका लागि अभियान सुरु गरेको हो।

अभियान अन्तर्गत लाइसेन्स प्राप्त आधिकारिक चालकलाई मात्र प्रोत्साहन गरिने, ट्राफिक नियमसम्बन्धी विशेष अनुशिक्षण प्रदान गरिने तथा ओभरस्पिड, ओभरलोड, बढी भाडा असुली, यात्रुसँग दुर्व्यवहार तथा यात्रु लिन इन्कार गर्ने जस्ता गतिविधि नियन्त्रण गरिने बताइएको छ।

यस अभियानमा सहभागी चालकहरूले ट्राफिक प्रहरीबाट प्रमाणित विशेष ज्याकेट प्रयोग गर्नेछन्। ज्याकेटको पछाडि स्पष्ट रूपमा अंकित नम्बर नै चालकको आधिकारिक पहिचान हुने जनाइएको छ। यात्रुले सामान हराएको, बढी भाडा लिइएको, दुर्घटना भएको वा अन्य कुनै गुनासो भएमा उक्त नम्बरका आधारमा सहज रूपमा उजुरी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

ट्राफिक प्रहरीका अनुसार अभियानबाट सिटी सफारी सञ्चालनमा अनुशासन र व्यवस्थापन कायम हुने, सवारी दुर्घटनामा उल्लेख्य कमी आउने, चालकहरूको व्यवहार तथा जिम्मेवारीमा सुधार हुने, यात्रु र सर्वसाधारणको सुरक्षा सुनिश्चित हुने तथा मोरङलाई सुरक्षित सवारी व्यवस्थापनको नमूना जिल्ला बनाउने लक्ष्य राखिएको छ।

यसैगरी, अभियानले अवैधरूपमा सिटी सफारी सञ्चालन गर्ने भारतीय चालकहरूलाई समेत निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।

ट्राफिक प्रहरीले स्वास्थ्यप्रति सचेत नागरिकले खाद्यान्नको गुणस्तर जाँचेर मात्र उपभोग गरेझैँ सडक सुरक्षाको जोखिमलाई समेत विश्लेषण गर्दै ट्राफिक प्रहरीद्वारा प्रमाणित “सुरक्षित चालक” को सेवा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्