रणभूमी सम्वाददाता मंगलबार, आषाढ ०९, २०८३
विराटनगर / समुदाय स्तरमा विपद् व्यवस्थापन तथा प्रतिकार्य क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको “समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम” मंगलबारदेखि मोरङ जिल्लाका दुई स्थानमा एकैसाथ शुभारम्भ भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेक्वा कंकालिनी, मोरङ र रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा सुरु गरिएको हो।
स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमको मुख्य उद्देश्य समुदाय स्तरमा विपद् व्यवस्थापन तथा प्रतिकार्य क्षमताको विकास गर्दै दक्ष स्वयंसेवक समूह तयार गर्नु रहेको आयोजकले जनाएको छ।
कंकालिनीस्थित सशस्त्र प्रहरी गणमा आयोजित उद्घाटन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष , सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी उपरीक्षक , सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनीका गणपति सशस्त्र प्रहरी उपरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा आयोजित कार्यक्रम रंगेली नगर कार्यपालिकाकी कार्यवाहक नगर प्रमुख को प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको थियो।
असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने तालिममा मोरङ जिल्लाका स्थानीय तहका नगर प्रहरी तथा विभिन्न संघ–संस्थाका गरी ४० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। तालिम अवधिभर सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी तथा समुदायमा आधारित विपद् व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण तथा सचेतनामूलक गतिविधि सञ्चालन गरिने जनाइएको छ।
आयोजकका अनुसार यस कार्यक्रमले स्थानीय स्तरमा विपद्को समयमा छिटो, प्रभावकारी र समन्वयात्मक प्रतिकार्य गर्न सक्ने स्वयंसेवक जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।