१५ आषाढ २०८३, सोमबार
Tags

रानी नाकामा भारतीय सवारीसँग अवैध रकम असुल्ने ३ जना पक्राउ

रणभूमी सम्वाददाता सोमबार, आषाढ १५, २०८३

विराटनगर / भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनका चालकसँग अवैध रूपमा रकम असुली गरेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २५ गते दिउँसो करिब २ः३० बजे विराटनगर महानगरपालिका–१५ स्थित रानी नाकानजिक रहेको यात्रु सहायता शाखामा नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधनका चालकहरूलाई दबाब र प्रभावमा पारेर अनधिकृत रूपमा रकम असुली गरी आर्थिक लाभ लिइरहेको भन्ने विशेष सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अवैध रकम असुलीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१३ बस्ने वर्ष ६३ को सुरेश कर्ण, विराटनगर महानगरपालिका–१ बस्ने वर्ष ४४ को सज्जय केवट, विराटनगर महानगरपालिका–१५ बस्ने ६७ वर्षीय नरेन्द्र थापा रहेका छन्।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्