रणभूमी सम्वाददाता शुक्रबार, आषाढ १९, २०८३
विराटनगर / सशस्त्र प्रहरी बलले मोरङका विभिन्न स्थानबाट करिब ३५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध रूपमा भित्र्याइएका औषधि तथा खाद्य सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी, मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१ बरगाछी क्षेत्रमा सडक छेउमा लोड गर्न तयारी अवस्थामा राखिएको सामानमा शंका लागी जाँच गर्दा एमआरपी मूल्य करिब ३० लाख ८४ हजार रुपैयाँ बराबरको मल्टिभिटामिन औषधि फेला पारेको हो।
बरामद औषधि आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, दरैया र मटेरूवा क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेका दुई वटा सिटी सफारीमा लोड गरिएको डाल्डा घ्यू तथा २० प्याकेट पुटिन बरामद गरिएको छ। उक्त सामान र सिटी सफारीसहित करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले विशेष निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ।