रणभूमी सम्वाददाता आइतबार, आषाढ २१, २०८३
विराटनगर / सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर टंकी, मोरङले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका–१५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्र बहादुर भण्डारी, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक खड्का, सशस्त्र प्रहरी निरीक्षक नगेन्द्र खत्री, वसन्त कटवाल र शंकर कोइरालासहित विराटनगर–१५ का वडा अध्यक्ष प्रकाश साह तथा वडा नं. १६ का वडा अध्यक्ष उद्धव भुजेलको सहभागिता रहेको थियो। कार्यक्रममा ठूलो संख्यामा सीमावर्ती क्षेत्रका स्थानीयवासी सहभागी भएका थिए।
अन्तरक्रियाका क्रममा स्थानीयले चाइना मार्केटसँग जोडिएका समस्या, भन्सारको तीन नम्बर गेट सञ्चालनसम्बन्धी विषय, सीमावर्ती क्षेत्रमा बढ्दो लागूऔषध कारोबार तथा ओसारपसारलगायतका समस्याबारे खुला रूपमा धारणा राखेका थिए।
स्थानीयवासीहरूले सीमावर्ती क्षेत्रमा उद्योग तथा कलकारखाना बन्द भएपछि रोजगारीको अभाव सिर्जना भएको र त्यसकै कारण कतिपय नागरिक सामान्य सामान ओसारपसार गर्न बाध्य भएको बताएका थिए। उनीहरूले “यसलाई केवल तस्करी भनेर हेर्ने कि रोजगारीको अभावले सिर्जिएको बाध्यता भनेर बुझ्ने?” भन्ने प्रश्नसमेत उठाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी गेहेन्द्र बहादुर भण्डारीले तस्करी नियन्त्रणका लागि केवल निगरानी बढाएर मात्र पर्याप्त नहुने बताए। सीमावर्ती क्षेत्रका युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने योजना सशस्त्र प्रहरीले अघि बढाएको उनले जानकारी दिए।
उनले भारतका सुरक्षा निकायसँग समन्वय गर्दै लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न संयुक्त प्रयास भइरहेको पनि बताए। सीमा क्षेत्रमा लागूऔषधको अवैध कारोबार न्यूनीकरण गर्न दुवै देशका सुरक्षा निकायबीच निरन्तर सहकार्य भइरहेको उनको भनाइ थियो।
एसपी भण्डारीका अनुसार सीमामा बसोबास गर्ने २० जना युवालाई कपाल काट्ने (हेयर कटिङ) तालिम प्रदान गरिएको छ। तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्रका साथै कपाल काट्न आवश्यक सामग्रीसमेत वितरण गरिएको उनले बताए। यस्ता सीपमूलक कार्यक्रम विस्तार गर्दै सीमावर्ती युवालाई वैकल्पिक रोजगारीतर्फ आकर्षित गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरीको भनाइ छ।
कार्यक्रममा स्थानीय र सुरक्षा निकायबीच सीमा सुरक्षा, रोजगारी, लागूऔषध नियन्त्रण तथा समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।