२१ आषाढ २०८३, आइतबार
Tags

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

रणभूमी सम्वाददाता आइतबार, आषाढ २१, २०८३

बाँके / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ। उहाँले आयोजनाले बाँकेको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी र लाभान्वित किसानसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो। आयोजनाको काममा देखिएका कानुनी तथा प्रशासनिक जटिलता हटाउन आवश्यक पहल गरिने र बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रिया थप सहज र प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

उहाँले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण र अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएको भन्दै नहर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। सिँचाइ पूर्वाधार निर्माणसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण, गुणस्तरीय बीउ र मलको उपलब्धता तथा कृषि मूल्य शृङ्खलाको विकासका लागि पनि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री श्रेष्ठले सिक्टा सिँचाइ आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण र किसानको आयआर्जन वृद्धि गर्ने दीर्घकालीन आधार बन्ने उल्लेख गर्नुभयो। निरीक्षणका क्रममा उहाँले स्थानीय किसानसँग रोपाइँको अवस्था, सिँचाइ सुविधा तथा उनीहरूले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो।

नेपाल सरकारकै लगानीमा आर्थिक वर्ष २०६१/६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजना बाँकेको राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको ३१७ मिटर लामो ब्यारेजमार्फत सञ्चालनमा रहेको छ। आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब ९ हजार हेक्टर क्षेत्र सिँचित हुने परिकल्पना गरिएको छ।

आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत यस आयोजनाको स्वीकृत गुरुयोजनाअनुसार कुल अनुमानित लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। तीन चरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको दोस्रो चरणको काम हाल जारी छ भने आर्थिक वर्ष २०८९/९० भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।

हालसम्म आयोजनाको ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। यस अवधिसम्म करिब २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको आयोजनाले जनाएको छ।

आयोजनाअन्तर्गत अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन र फ्लसिङ च्यानल निर्माण सम्पन्न भइसकेको छ। पश्चिमतर्फ ५० क्युमेक्स क्षमताको ४५.२५ किलोमिटर मूल नहर तथा पूर्वतर्फ १४.५ क्युमेक्स क्षमताको ५३.५ किलोमिटरमध्ये ३७.६७५ किलोमिटरसम्म मूल नहर निर्माण सम्पन्न भएको छ। त्यस्तै २३३ किलोमिटरमध्ये ७७.५९ किलोमिटर शाखा तथा उपशाखा नहर, करिब ३० किलोमिटर तटबन्ध निर्माण, १८७ हेक्टर जमिन अधिग्रहण, किसान व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीको आधुनिकीकरण तथा कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा लिफ्ट सिँचाइ प्रणालीमार्फत करिब १५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको आयोजनाले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्