रणभूमी सम्वाददाता बिहिबार, आषाढ २५, २०८३
विराटनगर। मोरङको विराटनगर महानगरपालिका अन्तर्गत नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रेस परिचयपत्रको दुरुपयोग गर्दै सर्वसाधारण, व्यापारी तथा सुरक्षाकर्मीलाई प्रभावमा पार्ने प्रयास भइरहेको भन्दै स्थानीय स्तरमा गुनासो बढ्न थालेको छ।
स्थानीय व्यवसायी तथा सुरक्षाकर्मीका अनुसार पत्रकारिता पेशामा सक्रिय नरहेका केही व्यक्तिहरू विभिन्न सञ्चारमाध्यमको प्रेस पास वा सामाजिक सञ्जालका पेजलाई आधार बनाएर आफूलाई पत्रकारको रूपमा चिनाउने, सीमाक्षेत्रमा नियमित घुमफिर गर्ने तथा त्यसको आडमा बार्गेनिङ, धम्की र अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप छ।
व्यवसायीहरूका अनुसार यस्ता व्यक्तिहरूले कानुनी अधिकार नभए पनि सवारीसाधन रोकेर बिल माग्ने, सार्वजनिक स्थानमै सोधपुछ गर्ने तथा असहयोग गरे प्रहरी लगाएर दुःख दिने धम्की दिने गरेका छन्।
एक व्यवसायीले भने, “मेरो दुई ठाउँमा पसल छ। आवश्यकताअनुसार एक पसलबाट अर्को पसलमा सामान ल्याउनुपर्छ। तर केही व्यक्ति आएर मोटरसाइकल रोक्छन्, बिल देखाउन दबाब दिन्छन् र सार्वजनिक रूपमा दुव्र्यवहार गर्छन्। सवारी जाँच गर्ने अधिकार सम्बन्धित निकायको हो, पत्रकार भन्दैमा यस्तो अधिकार कसैलाई हुँदैन।”
स्थानीय स्रोतका अनुसार केही व्यक्तिहरू सीमाक्षेत्रमा दिनभरि बसेर सुरक्षाकर्मीहरूसँग निकटता देखाउने, त्यसकै आडमा व्यापारी तथा सर्वसाधारणमाथि दबाब सिर्जना गर्ने र आफूले भनेको नमाने सम्बन्धित निकायमा उजुरी गर्ने वा दुःख दिने चेतावनी दिने गरेका छन्।
सुरक्षा निकायका केही कर्मचारीहरूले पनि नाम नखुलाउने सर्तमा यस्ता व्यक्तिहरूले आफूहरूको काममा अनावश्यक हस्तक्षेप गर्ने, माथिल्लो तहमा गलत सूचना पुर्याएर दबाब सिर्जना गर्ने प्रयास हुने गरेको गुनासो गरेका छन्।
यसैबीच, केही दिनअघि लागूऔधस सेवन गरेर जोगवनीबाट नेपाल फर्कंदै गरेका दुई जना व्यक्तिलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको घटना पनि चर्चामा आएको थियो। प्रहरी स्रोतका अनुसार उनीहरूले प्रेस परिचयपत्र देखाउँदै प्रहरीसँग विवाद गर्न खोजेको आरोप लागेको थियो।
स्थानीयहरूले सीमाक्षेत्रमा प्रेस परिचयपत्रको दुरुपयोग गरी व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्तिले वास्तविक पत्रकारिताको छवि नै धमिलिएको बताएका छन्। उनीहरूले पत्रकारिता पेशाको मर्यादा जोगाउन प्रेस परिचयपत्र वितरण प्रक्रिया, त्यसको प्रयोग तथा दुरुपयोगबारे सम्बन्धित निकायले प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।