रणभूमी सम्वाददाता शुक्रबार, आषाढ २६, २०८३
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१४ रानीस्थित विराटनगर–रानी राजमार्गमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको मोटरसाइकलसहित विभिन्न सामान बरामद गरेको छ।
बिहीबार बिहान करिब ११ बजे सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) जहदा भुटाहाबाट सशस्त्र प्रहरी निरीक्षक मारानाथ गौतमको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले भारतको बिहार राज्य, अररिया जिल्ला, जोगबनी नगरपालिका–५ निवासी २७ वर्षीय लालु दासलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लालु दासले को ६ प ९०२५ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा भन्सार छली गरी विभिन्न सामान नेपाल ल्याउँदै गरेका थिए। चेकजाँचका क्रममा मोटरसाइकलसहित मोटर पार्ट्स, दुई थान मोबाइल र ६१ किलो चकलेट बरामद गरिएको हो।
बरामद गरिएको सामानको अनुमानित मूल्य रु. १ लाख ८४ हजार ५०० रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानमा मोटरसाइकल, चार थान मोटर पार्ट्स (मोबिल फिल्टर दुई, डिजेल फिल्टर एक र एयर फिल्टर एक), दुई थान मोबाइल तथा ६१ किलो चकलेट रहेका छन्।
पक्राउ परेका व्यक्ति र बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङ बुझाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।