२८ आषाढ २०८३, आइतबार
Tags

सीमावासीसँग सशस्त्र प्रहरीको अन्तरक्रिया, डीआईजी थापाद्वारा सीमा सुरक्षा र विपद् तयारीको अनुगमन

रणभूमी सम्वाददाता शनिबार, आषाढ २७, २०८३

विराटनगर / सशस्त्र प्रहरी बल नेपालले मोरङका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै सीमा सुरक्षा, स्थानीय समस्या र विपद् तयारीबारे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ।

शनिवार मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित मुसहरी बस्ती नजिक आयोजित “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम” मा सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाको नेतृत्वमा टोली सहभागी भएको थियो।

कार्यक्रममा नं. ३ गण मुख्यालय मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्का, बोर्डर आउट पोस्ट (बीओपी) दरैयाका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइरालालगायतको उपस्थिति रहेको थियो।

अन्तरक्रियामा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी तथा भद्रभलादमीहरूले सीमा सुरक्षासँग सम्बन्धित समस्या, गुनासा तथा सुझाव राखेका थिए। सशस्त्र प्रहरीले उठेका विषयहरूको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको जनाएको छ।

यसै क्रममा जहदा गाउँपालिकामा पनि स्थानीय भद्रभलादमीहरूको सहभागितामा “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम” सञ्चालन गरिएको थियो। सो अवसरमा डीआईजी मनिष थापाले उक्त क्षेत्रका सुरक्षा व्यवस्थाको अनुगमन तथा निरीक्षण गर्दै सीमामा खटिएका सुरक्षाकर्मीलाई समयानुकूल निर्देशन दिएका थिए।

त्यसैगरी डीआईजी थापाले विराटनगर महानगरपालिका–१२ बखरीस्थित मनसुन प्रतिकार्य सुरक्षा बेसको समेत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले विपद् प्रतिकार्यका लागि राखिएका उपकरण तथा सामग्रीहरूको अवलोकन गर्दै मनसुनका बेला जुनसुकै समयमा आउन सक्ने प्राकृतिक विपद्को प्रभावकारी सामना गर्न आवश्यक तयारी अवस्थामा रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरीले सीमावर्ती नागरिकसँग प्रत्यक्ष संवाद, सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन तथा विपद् प्रतिकार्य क्षमता सुदृढ गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्