रणभूमी सम्वाददाता बुधबार, साउन ०६, २०८३
विराटनगर / मोरङको रंगेली नगरपालिका–७ बसपार्कस्थित हुलाकी सडकमा प्रहरीले १०१ ग्राम लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकी जाँच गरेको थियो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, सिकटी थाना अन्तर्गत बोकाहा मुसहरा निवासी २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन्। उनीहरू क्रमशः BR38AH7193 र BR38AO8243 नम्बरका मोटरसाइकलमा सवार थिए।
प्रहरीले खानतलासीका क्रममा मोहम्मद मुकुलको साथबाट १०१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थ र दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।