१० साउन २०८३, आइतबार
Tags

नेपाल–भारत सीमामा सुरक्षा रणनीति फेरियो: रानी नाकामा बिट टोलीको औपचारिक परिचालन

रणभूमी सम्वाददाता आइतबार, साउन १०, २०८३

विराटनगर / नेपाल–भारत सीमाको प्रमुख प्रवेशद्वार विराटनगर–रानी–जोगबनी मुख्य नाकामा आजदेखि Border Interaction Team (BIT) औपचारिक रूपमा परिचालनमा आएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, स्थानीय नागरिकसँग सहकार्य बढाउने तथा सीमा अपराध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले BIT परिचालनमा ल्याएको हो।

सशस्त्र प्रहरी बल, नेपाल बराह बाहिनी मुख्यालय, कोशी प्रदेश अन्तर्गत १४ सदस्यीय BIT टोली नियमित रूपमा रानी–जोगबनी नाकामा खटिने व्यवस्था गरिएको छ। टोलीले सीमाक्षेत्रमा हुने गतिविधिमाथि निगरानी राख्नुका साथै स्थानीय नागरिक, व्यवसायी र सरोकारवालासँग निरन्तर समन्वय गर्दै सूचना आदानप्रदान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ।

बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) मनिस थापा को अवधारणाअनुसार परिचालन गरिएको BIT ले सीमामा हुने तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन, अवैध आवतजावत तथा अन्य सीमा अपराध नियन्त्रणमा समुदायसँग सहकार्य गर्दै प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

BIT को औपचारिक परिचालन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्र बहादुर भण्डारी तथा सीमा सुरक्षा गुल्म रानी, मोरङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक खड्का सहितका अधिकृतहरूको सहभागिता रहेको थियो। उनीहरूले BIT को औपचारिक परिचालन भएसँगै अब टोली नियमित रूपमा सीमाक्षेत्रमा परिचालित रहने जानकारी दिएका छन्।

BIT मा सशस्त्र प्रहरीका प्रतिनिधिसँगै स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, युवा, महिला समूह तथा सञ्चारकर्मीको समेत सहभागिता रहनेछ। टोलीले सीमा सुरक्षासम्बन्धी सूचना संकलन, स्थानीय तहसँग समन्वय, जनचेतनामूलक अभियान तथा सीमामा देखिने समस्याको समाधानका लागि सहकार्य गर्नेछ।

नेपाल–भारतबीचको अत्यन्त व्यस्त र संवेदनशील नाका मानिने विराटनगर–जोगबनी क्षेत्रमा BIT को परिचालनले सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। सुरक्षा अधिकारीहरूका अनुसार समुदाय र सुरक्षा निकायबीचको विश्वास अभिवृद्धि गर्दै सीमामा हुने अवैध गतिविधिविरुद्ध समयमै सूचना संकलन, द्रुत समन्वय र प्रभावकारी कारबाहीमा BIT महत्वपूर्ण माध्यम बन्नेछ। यसले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न दीर्घकालीन रूपमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्