११ साउन २०८३, सोमबार
Tags

मोरङमा बालिकामाथि सामूहिक बलात्कारको आरोप, पाँच जना पक्राउ

रणभूमी सम्वाददाता सोमबार, साउन ११, २०८३

विराटनगर / मोरङको सुनवर्षी नगरपालिका क्षेत्रमा एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जनाएको हो।

प्रहरीका अनुसार साउन २ गते बिहान करिब ९ बजे रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानले सुनवर्षी नगरपालिका–१ की एक बालिकालाई विभिन्न प्रलोभनमा पारी रंगेली नगरपालिका–७ स्थित एक क्याफेमा लगी जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी–१ का २१ वर्षीय सुमन कुमार साहले पनि पीडितमाथि जबरजस्ती करणी गरेको आरोप छ।

त्यसको दुई दिनपछि अर्थात् साउन ४ गते राति करिब ११ बजे पीडितलाई पुनः रंगेली–७ स्थित ‘THE 90s’ क्याफेमा लगिएको र त्यहाँ २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह तथा १८ वर्षीय रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ।

पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले साउन ११ गते बिहान करिब ११ः३० बजे घटनामा संलग्न रहेको आरोपमा पाँचै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्