१२ साउन २०८३, मंगलबार
Tags

सुनसरी घटनापछि मोरङ प्रशासन कडा, जिल्लाभर डिजे बजाउन रोक

रणभूमी सम्वाददाता मंगलबार, साउन १२, २०८३

विराटनगर / सुनसरीको देवानगञ्जमा डिजे बजाउने विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर डिजेको प्रयोगमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र हुने कुनै पनि मेला, महोत्सव, विवाह समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका सार्वजनिक कार्यक्रम तथा जमघटमा डिजेको प्रयोग नगर्न तथा नगराउन निर्देशन दिएको हो।

प्रशासनका अनुसार हालको सुरक्षा अवस्था र सार्वजनिक शान्ति–सुव्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको हो। सूचनाको अवज्ञा गर्दै डिजे प्रयोग गरेको वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा जिल्लावासी सबैलाई प्रशासनको निर्णय पालना गर्न आग्रह गरिएको छ।

सुनसरीको देवानगञ्जमा डिजे बजाउने विषयमा उत्पन्न विवाद उग्र बन्दा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने सुरक्षाकर्मी र स्थानीयसहित दर्जनौं व्यक्ति घाइते भएका थिए। उक्त घटनापछि सुरक्षा सतर्कता बढाउँदै मोरङ प्रशासनले पनि जिल्लाभर डिजे सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाएको हो।

यहाँ कमेन्ट गर्नुहोस्