रणभूमी सम्वाददाता बिहिबार, साउन २८, २०८३
विराटनगर / मोरङ जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको रु. ३ लाख ७७ हजार १ सय ३० बराबरको लत्ताकपडा, किराना तथा हार्डवेयरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
मिति २०८३ साउन २८ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमा इलाकामा चेकजाँच तथा निगरानीका क्रममा भन्सार छली ल्याइएका उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, सशस्त्र प्रहरी बल, नेपाल बीओपी मधुमल्लाबाट खटिएको टोलीले २० किलो ९ सय ग्राम प्रतिबन्धित लागूऔषध गाँजा समेत बरामद गरेको छ। बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको जनाइएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।