रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०२, २०८३
काठमाडौं / बैंकबाट बोलाएको भन्दै ग्राहकलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी ‘केवाईसी अपडेट’ गर्ने बहानामा ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैंकका बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने क्रममा उनीहरूले फोन तथा ह्वाट्सएपमा स्क्रिन सेयर गर्न लगाउने, त्यसपछि ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी कोड माग्ने र पीडितको बैंक खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
साइबर ब्यूरोको प्राविधिक विश्लेषणका आधारमा पहिचान भएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो।
पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जय कुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २९ वर्षीय कुबेर थापा रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले २०८३ भदौ ३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीले बैंक वा वित्तीय संस्थाको नाममा फोन वा ह्वाट्सएपमार्फत केवाईसी अपडेट गर्न भन्दै ओटीपी, पासवर्ड, पिन, बैंक विवरण वा स्क्रिन सेयर गर्न आग्रह गरेमा तत्काल विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्ता विवरण उपलब्ध गराउँदा बैंक खातामा रहेको रकम अनधिकृत रूपमा स्थानान्तरण हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।