०२ भाद्र २०८३, मंगलबार
Tags

त्रिभुवन विमानस्थलबाट ३९ किलोभन्दा बढी गाँजासहित ८ जना पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०२, २०८३

काठमाडौं / विदेशबाट हवाई मार्ग हुँदै नेपाल भित्र्याइएको उच्चस्तरको गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ जना विदेशी नागरिक पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय विमानस्थलबाट खटिएको प्रहरी टोलीले बैंककबाट नेपाल आएका यात्रुहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा उनीहरूले बोकेको लगेजबाट ३९ किलो २८८ ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर टीजी–३१९ बाट नेपाल आएका पाँच जना र बाटिक एयरवेजको उडान नम्बर ओडी–५४१ बाट आएका तीन जना गरी आठ जनालाई पक्राउ गरिएको हो।
टीजी–३१९ बाट पक्राउ पर्नेमा म्यानमारका जार नी लिन, एई एई थ्वे, आङ ब्वार, चुए म्यात्थ्वाल सेन र जिन म्यो आङ रहेका छन्।
त्यस्तै, ओडी–५४१ बाट पक्राउ पर्नेमा भारतको पञ्जाबका खुशदीप, गुरदीप सिंह र कामिनी रहेका छन्।
लागू औषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूको लगेजबाट उच्चस्तरको गाँजासहित आठ थान राहदानी र आठ थान मोबाइल फोन समेत बरामद गरिएको छ।
विदेशबाट हवाई मार्ग हुँदै नेपालमा लागू औषध भित्र्याउने प्रयासमा उनीहरूको संलग्नता रहेको आशङ्का गरिएको छ। पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।
घटनाले अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने लागू औषध ओसारपसार नियन्त्रणका लागि यात्रु तथा उनीहरूको सामानमाथिको सुरक्षा जाँच र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्