०३ भाद्र २०८३, बुधबार
Tags

सुपौलस्थित बालगृहबाट नेपाली बालक कृष्ण चौधरी माइती नेपालको जिम्मा

रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०२, २०८३

सुपौल / भारतको सुपौलस्थित बालगृह, युनिट–०१, बृहत् आश्रय गृहमा रहेका ८ वर्षीय नेपाली बालक कृष्ण चौधरीलाई मंगलबार माइती नेपालकी प्रतिनिधि गीताञ्जली शर्माको जिम्मा लगाइएको छ।

माइती नेपालका कार्यकारी निर्देशकको पत्र संख्या ४३६६, मिति २०८३ भदौ १ गतेको पत्रका आधारमा बालकलाई मंगलबार अपराह्न करिब ३ः३० बजे सुरक्षित रूपमा माइती नेपालकी प्रतिनिधि शर्मालाई सुपुर्द गरिएको हो।

माइती नेपालले जारी गरेको अधिकारपत्रमा गीताञ्जली शर्मालाई बालक कृष्ण चौधरीलाई जिम्मा लिन तथा उनको नेपाल फिर्ती प्रक्रियामा आवश्यक समन्वय र सहयोग गर्न अधिकार प्रदान गरिएको उल्लेख छ। कागजातमा बालकको उमेर ८ वर्ष र राष्ट्रियता नेपाली रहेको जनाइएको छ।

बालकको स्थायी ठेगाना विराटनगर महानगरपालिका–१५, मोरङ रहेको उल्लेख गरिएको छ। उनका बुबा लक्ष्मण चौधरी र आमा लक्ष्मी चौधरी रहेको कागजातमा जनाइएको छ।

माइती नेपालले बालक नेपाल पुगेपछि सम्बन्धित स्थानीय अधिकारीसँग समन्वय गरी उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

बालकलाई जिम्मा लगाउने कार्यक्रममा बाल संरक्षण पदाधिकारी दीपेश शर्मा, श्रवण कुमार, कार्यपालक सहायक सुपौल, दीपक कुमार पासवान, जिल्ला समन्वयक अररिया, संगमलाल पासवान, इन्डो–नेपाल बोर्डर समन्वयक, माइती नेपालकी प्रतिनिधि गीताञ्जली शर्मा, इन्डो–नेपाल बोर्डरबाट भीमकुमारी र इन्द्रा गौतम, स्थानीयस्तरबाट रामचन्द्र यादव, सचिव कोशी प्रहरी सुपौल, शशांक राज, विकल्प द सोलुसनका प्रतिनिधि, सुपौल बाल कल्याण समितिका सदस्य पंचम नारायण सिंह, अफसरा बेगम तथा समितिका अध्यक्ष ईश्वरचन्द्र झासहित अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बाल संरक्षणसँग सम्बन्धित निकाय तथा माइती नेपालको समन्वयमा बालकलाई सुरक्षित रूपमा जिम्मा लगाइएको हो।

सुपुर्दगीका क्रममा आवश्यक पहिचानसम्बन्धी कागजात तथा फोटो अभिलेखसमेत सुरक्षित राखिएको जनाइएको छ।

माइती नेपालले बाल संरक्षण तथा मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले जोखिममा रहेका बालबालिका तथा कमजोर समुदायका लागि उद्धार, पुनःस्थापना र पुनर्मिलनलगायतका कार्य गर्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्