०३ भाद्र २०८३, बुधबार
Tags

तीन वर्षीया बालिका मृत फेला, १६ वर्षीय किशोर पक्राउ

बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ

रणभूमी सम्वाददाता बुधबार, भाद्र ०३, २०८३

बारा / बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। अनुसन्धानपछि मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा जितपुरसिमरा–२ बस्ने भिमसेन थापाका छोरा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीको दाबी छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासहित ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेकाले प्रारम्भिक अनुसन्धानबाट खुलेका विवरणका आधारमा थप तथ्य सार्वजनिक हुने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्