रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०९, २०८३
चितवन / चितवन प्रहरीले लागूऔषध गाँजाको ठूलो परिमाणसहित दुई जनालाई पक्राउ गरेको छ। राप्ती नगरपालिका–१० चिप्लेटीबाट प्रहरीले कारको डिकीभित्र लुकाएर लैजाँदै गरेको १६८ किलो गाँजा बरामद गरेको हो। नेपाल प्रहरीले पनि घटनामा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेको पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भदौ ८ गते बिहान करिब ३ः४० बजे विशेष सूचनाका आधारमा प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिप्लेटीमा बा.प्र.०३–०१–०२३ च ५८२८ नम्बरको कार रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कार चालक नवलपुरको मध्यविन्दु नगरपालिका–७ मिलनचोक घर भई हाल गैँडाकोट नगरपालिका–२ भिर्कुटीचोक बस्ने ५१ वर्षीय दिल्लीराम थारू र कारमा सवार चितवनको राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका हुन्।
प्रहरीले कारको पछाडिको डिकीभित्र रातो प्लास्टिकले बेरेर बाहिरबाट पानीका बोतलले छोपेको अवस्थामा गाँजा लुकाइएको फेला पारेको जनाएको छ। उक्त स्थानबाट चारपाटे आकारका ३२ वटा प्याकेटमा रहेको कुल १६८ किलो गाँजा बरामद भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
घटनापछि दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई बरामद गाँजा र कारसहित चितवन जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कारको डिकीमा विशेष तरिकाले ठूलो परिमाणमा गाँजा लुकाएर राजमार्ग हुँदै लैजान खोजिएको घटनाले लागूऔषध ओसारपसारमा संलग्न समूहले अपनाइरहेको नयाँ शैलीसमेत उजागर गरेको छ। प्रहरीले सूचना संकलन र राजमार्गमा गरिएको प्रभावकारी चेकजाँचबाट ठूलो परिमाणको गाँजा गन्तव्यमा पुग्नुअघि नै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।