०९ भाद्र २०८३, मंगलबार
Tags

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०९, २०८३

काठमाडौं / काठमाडौंमा स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५२ वर्षीय मा यागुबी (MA YAGUBI) रहेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागू औषध कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा उनलाई काठमाडौं महानगरपालिका–१५, चमतीस्थित घर भाडामा लिएर बसेको अवस्थामा पक्राउ गरेको हो।

ब्यूरोका अनुसार मिति २०८३/०५/०८ गते घरमा खानतलासी गर्दा लागू औषध नभेटिए पनि उनको कोठाबाट स्रोत नखुलेको नेपाली नगद ३१ लाख रुपैयाँ सहित विभिन्न सामग्री बरामद गरिएको थियो।

प्रहरीले उनको साथबाट पासपोर्ट, सुन काट्न प्रयोग गरिने कैंची, ह्यामर, डिजिटल तराजु, क्याल्कुलेटर, विभिन्न कम्पनीका चार थान मोबाइल फोन, एनआईएमबी बैंकको दुई थान चेकबुक र एनआईसी एशिया बैंकको एक थान चेकबुक बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका मा यागुबीको पासपोर्ट नम्बर ELI478138 रहेको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।

ब्यूरोका अनुसार मा यागुबी यसअघि पनि पटक–पटक नेपाल आएर फर्किएका थिए। उनी पछिल्लो पटक सन् २०२६ जुलाई २३ मा नेपाल आएको अभिलेखबाट खुलेको विज्ञप्तिमा उल्लेख छ।

यहाँ कमेन्ट गर्नुहोस्