रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०९, २०८३
राजविराज / सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–२ कनकपट्टी टोलमा घर भई हाल शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारस्थित जाहेरवाली रबिना खातुनकी दुई वर्षीया छोरीलाई निजकै कान्छी आमाले कर्तव्य गरी हत्या गरेर घर पछाडिको झाडीमा फालेको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
घटना भदौ ७ गते बिहान करिब १० बजेर ३५ मिनेटमा शम्भुनाथ नगरपालिका–३ स्थित जाहेरवालीको घर पछाडिको झाडीमा भएको प्रहरी विज्ञप्तिमा उल्लेख छ।
सूचनापछि प्रहरीले तत्काल अनुसन्धान गर्दै आरोपित मुस्कान खातुनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार सोधपुछका क्रममा उनले बालिकाको हत्या आफूले गरेको स्वीकार गरेकी छन्।
घटनाबारे मृतककी आमा रबिना खातुनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएपछि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकी खातुनलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।