०९ भाद्र २०८३, मंगलबार
Tags

ड्युटीमा खटिएका प्रहरीमाथि गालीगलौज र हातपात गर्ने युवक पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०९, २०८३

काठमाडौं / ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा काठमाडौंमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि पिक आवर ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदलयात्रुलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइबुझाइ गरेका थिए।

सो क्रममा प्रहरीको आग्रह नमानी अटेरी गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा जिल्ला गुल्मी, तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राजु कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कटवालविरुद्ध राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कटवालमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्