११ भाद्र २०८३, बिहिबार
Tags

मानव बेचबिखन रोकथाममा नव अभियान नेपालको सक्रियता, १ हजार ९५६ जनालाई परामर्श

रणभूमी सम्वाददाता बिहिबार, भाद्र ११, २०८३

विराटनगर । मानव बेचबिखन रोकथाम तथा जोखिममा रहेका महिला, किशोरी र बालबालिकाको संरक्षणका क्षेत्रमा काम गर्दै आएको नव अभियान नेपाल, विराटनगर शाखाले आफ्ना गतिविधि र उपलब्धिबारे समीक्षा गरेको छ।

सविना श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा विराटनगर महानगरपालिका–१४ का वडा अध्यक्ष सूर्यनारायण महतो प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विराटनगर–१६ का वडा अध्यक्ष उद्धव भुजेल, महानगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण महाशाखा प्रमुख राधिका कार्की, इलाका प्रहरी कार्यालय रानी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिसहित एबीसी नेपाल, सिविन नेपाल, साना हातहरू नेपाल, आफन्त नेपाल र नेपाल पत्रकार महासंघ मोरङका प्रमुख सुशील पाठकलगायतको सहभागिता थियो।

समीक्षा कार्यक्रममा संस्थाले मानव बेचबिखनविरुद्ध सञ्चालन गरेका विभिन्न कार्यक्रमबाट प्राप्त उपलब्धिबारे जानकारी गराइएको थियो। संस्थाका अनुसार १ हजार ९५६ जनालाई मानव बेचबिखनविरुद्ध सोधपुछ तथा परामर्श प्रदान गरिएको छ।

यस्तै, बेचबिखनको जोखिममा रहेका वा इन्टरसेप्ट गरिएका २०५ जना महिला, किशोरी तथा बालबालिकालाई पारिवारिक पुनर्मिलन गराइएको र ८७ जनालाई सुरक्षित आवास गृहमा आश्रय तथा परामर्श प्रदान गरिएको संस्थाले जनाएको छ।

शिक्षामा सहयोग गर्ने उद्देश्यले विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयका १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। बेचबिखन तथा हिंसाको जोखिममा रहेका १५ जना गरिब तथा विपन्न महिला तथा किशोरीलाई व्यावसायिक सीपमूलक तालिम दिइएको संस्थाले जनाएको छ।

त्यसैगरी, इन्टरसेप्ट गरिएका दुई बालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्न छात्रवृत्ति तथा सीमाक्षेत्रका महिला तथा किशोरीलाई बीउ पुँजी कार्यक्रमअन्तर्गत ६ थान सिलाइ मेसिन वितरण गरिएको छ। रानी–१६ स्थित मुसहरी बस्तीका महिला, किशोरी तथा बालबालिकालाई लत्ताकपडा समेत वितरण गरिएको संस्थाले जनाएको छ।

समीक्षाका क्रममा पीडितको पुनःस्थापनापछि नियमित फलोअप गर्न कठिनाइ, आवश्यक कागजातको अभाव, सरकारी तथा गैरसरकारी संस्था र सुरक्षा निकायबीच सूचनाको समयमै आदानप्रदान नहुनु तथा पीडितले पारिवारिक दबाबका कारण कानुनी प्रक्रिया अघि बढाउन नचाहनेजस्ता समस्या रहेको औँल्याइएको छ।

खुला सीमा, नजिकै रहेको रेलवे स्टेशन तथा बसपार्कबाट हुने असुरक्षित आवतजावत र सामाजिक सञ्जालको दुरुपयोगले समेत मानव बेचबिखनको जोखिम बढाइरहेको संस्थाको भनाइ छ। सामाजिक सञ्जालमार्फत झुटा रोजगारीका प्रस्ताव तथा विभिन्न प्रलोभनमा पार्ने घटना बढेकाले जनचेतना विस्तार आवश्यक रहेको बताइएको छ।

नव अभियान नेपालले शिक्षा तथा जनचेतनामार्फत जोखिममा रहेका समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने, मानव बेचबिखन रोकथाम गर्ने तथा पीडितको उद्धार, पुनःस्थापना र पुनःएकीकरणमा सहयोग गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्