रणभूमी सम्वाददाता बुधबार, भाद्र १७, २०८३
जोगबनी (बिहार) । भारत–नेपाल सीमामा सशस्त्र सीमा बल (एसएसबी)ले अवैध रूपमा भारततर्फ लैजान खोजिएको पाँच लाख भारतीय रुपैयाँसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।
एसएसबीको ५६औँ वाहिनी बथनाहाअन्तर्गत ‘एफ’ कम्पनी जोगबनीका सुरक्षाकर्मीले सेप्टेम्बर १, २०२६ साँझ करिब ७ः२० बजे जोगबनीस्थित बीसीपी गेटनजिक सीमा स्तम्भ नम्बर १८० को आसपासबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएका हुन्।
एसएसबीका अनुसार नेपालबाट ठूलो परिमाणमा भारतीय मुद्रा लिएर एक व्यक्ति भारत प्रवेश गर्न लागेको गोप्य सूचना प्राप्त भएपछि बीआईटी ड्युटीमा खटिएको टोलीले नियमित जाँचका क्रममा शंकास्पद व्यक्तिलाई रोकेको थियो। खानतलासी गर्दा कालो पोलिथिनमा लुकाएर राखिएको भारतीय ५ लाख रुपैयाँ बरामद भएको हो।
पक्राउ पर्नेमा नेपालको मोरङ जिल्ला विराटनगर महानगरपालिका–६ का २९ वर्षीय जुबेर आलम रहेका छन्। उनका साथबाट नेपाली नागरिकता प्रमाणपत्रसमेत बरामद भएको एसएसबीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा आलमले आफू ‘क्यारियर’का रूपमा काम गर्दै आएको र उक्त रकम विराटनगरस्थित नर्सिङ अस्पतालनजिकबाट लिएर जोगबनीस्थित ‘कलकत्ता क्लोथ स्टोरमा पुर्याउन भारततर्फ गएको बयान दिएको एसएसबीको दाबी छ।
बरामद भएको पाँच लाख भारतीय रुपैयाँ र पक्राउ परेका आलमलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि फारबिसगन्जस्थित भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ।
भारत–नेपाल सीमा क्षेत्रमा पछिल्लो समय अवैध नगद, सामान तथा अन्य तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाउँदै आएको छ। एसएसबीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा तस्करी नियन्त्रणमा थप कडाइ गरिएको जनाएको छ।