रणभूमी सम्वाददाता बुधबार, भाद्र २४, २०८३
जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले जनकपुरधाम वन प्राविधिक समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
समाजमा आबद्ध सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको छ।
बाढीबाट प्रभावित परिवारहरू संकटमा परिरहेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले रकम संकलन गरी सहयोग गरिएको समाजको भनाइ छ। समाजले विपद्को समयमा पीडितको दुःखमा साथ दिन सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नसमेत अपिल गरेको छ।
समाजका अनुसार ६१ हजार ५ सय रुपैयाँको सहयोगले बाढीपीडितको समस्या पूर्ण रूपमा समाधान गर्न नसके पनि विपद्को कठिन घडीमा पीडितका लागि ‘संकटको समयमा लगाइएको मल्हम’ का रूपमा आफूहरूले यसलाई लिएका छन्।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ। यही अभियानमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वन प्राविधिक समाजले पनि योगदान गरेको जनाएको छ।