२७ भाद्र २०८३, शनिबार
Tags

सशस्त्र प्रहरीद्वारा विराटनगरमा दुई घरमा छापा २१ बोरा अवैध कपडा बरामद

रणभूमी सम्वाददाता शनिबार, भाद्र २७, २०८३

विराटनगर । मोरङको विराटनगरमा सशस्त्र प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैध रूपमा लुकाइछिपाइ राखिएको कपडा बरामद गरेको छ।

२०८३ भदौ २७ गते विराटनगर महानगरपालिका–८, मधुमारा बस्ने पर्शुराम पौडेलको घरमा नवराज शाहले भाडामा लिएको कोठामा अवैध सामान लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, रानीबाट खटिएको टोलीले खानतलासी गरेको थियो।

नेपाल प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा गरिएको खानतलासीका क्रममा ११ बोरा कपडा र एक थान स्टेप्लाइजर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाउँदा त्यसको कुल मूल्य ७ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, विराटनगर महानगरपालिका–५, हरिहरपथस्थित हरि बहादुर कार्कीको घरमा मनोज चौधरीले भाडामा लिएको कोठाबाट पनि सशस्त्र प्रहरीले कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले नेपाल प्रहरी, भन्सार कार्यालय मोरङका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा खानतलासी गर्दा १० बोरा कपडा बरामद गरेको हो। बरामद कपडामध्ये ३ वटा ठूलो र ७ वटा सानो बोरा रहेको जनाइएको छ।

उक्त सामान गणमा ल्याई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

दुवै स्थानबाट बरामद सामानको प्रकृति र स्रोतबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्