रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३, सखुवागाछीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो।
असोज १८ गते राति ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ट्रकमा बन्दाकोबीले छोपेर प्लास्टिकका ८३ वटा बोरामा लुकाई राखिएको २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले ट्रकसहित चालक धनकुटा, शहीदभूमि गाउँपालिका–२ का राजु राई र सहचालक सोही स्थानका सन्दिप राईलाई नियन्त्रणमा लिएको छ।
गाँजासहित पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।