रणभूमी सम्वाददाता मंगलबार, आश्विन २०, २०८३
विराटनगर । मोरङको जहदा गाउँपालिकाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङका अनुसार २०८३ असोज १९ गते विशेष सुराकीका आधारमा बिओपी तारिगामाबाट खटिएको टोलीले जहदा गाउँपालिका–१, कुडरिया स्थित धान खेती तथा सीमा क्षेत्रमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ८४ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो।
त्यस्तै, सोही दिन राति करिब ९ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बिओपी जहदा भुटाहाबाट खटिएको टोलीले जहदा गाउँपालिका–१ नयाँ बस्तीस्थित धानबारी क्षेत्रमा खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा अन्दाजी २१० किलो गाँजा बरामद गरेको छ।
दुवै घटनामा गरी कुल २९४ किलो ८५० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
कुडरिया सीमा क्षेत्रबाट बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ भने नयाँ बस्तीबाट बरामद भएको गाँजा नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले सीमा क्षेत्रमा लागूऔषध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि निगरानी र खोजतलासलाई निरन्तरता दिइरहेको जनाएको छ।