२९ कार्तिक २०८३, शनिबार
Tags

४ किलो ८० ग्राम स्म्याक, ५० किलो सेतो पाउडर र रसायनसहित ६ अन्तरराज्यीय तस्कर पक्राउ

रणभूमी सम्वाददाता शनिबार, कार्तिक २९, २०८३

जोगवनी । भारतको बिहारस्थित अररिया प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको ‘अपरेशन प्रहार’ अन्तर्गत ४ किलो ८० ग्राम स्म्याक जस्तो पदार्थसहित ६ जना अन्तरराज्यीय तस्करलाई पक्राउ गरेको छ।

नोभेम्बर १२ मा एसडीपीओ सुशील कुमारको नेतृत्वमा डीआईयू, नगर प्रहरी चौकी र आरएस प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पहिलो कारबाहीमा राष्ट्रिय राजमार्ग–२७ स्थित हडियाबारा टोल प्लाजाबाट पश्चिम बंगालका इस्माइल शेखलाई ८१२ ग्राम स्म्याकसहित पक्राउ गरिएको थियो। उनको सूचनाका आधारमा रियाज अन्सारीलाई जोगबनी स्टेशन रोडबाट पक्राउ गरिएको थियो। त्यस्तै, कुशियारगाउँ माछा बजारनजिक हमसफर बसबाट रिंकु महालदारलाई १ किलो ६१६ ग्राम स्म्याकसहित नियन्त्रणमा लिइएको थियो।

यसैगरी, हाडिया चोकस्थित राष्ट्रिय राजमार्ग–२७ मा सवारीसाधन जाँच गर्ने क्रममा नम्बर प्लेट नभएको कालो स्कोर्पियोबाट नबिरुल महालदार, रमजानी महालदार र चालक मुकेश कुमार पक्राउ परेका छन्। उनीहरूको साथबाट थप १ किलो ६५२ ग्राम स्म्याक, स्म्याक बनाउन प्रयोग हुने ५० किलो सेतो पाउडर, एक लिटर रसायन, पाँच लिटर डिस्टिल्ड वाटर र सात थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ६ जना पश्चिम बंगालको मालदा र अररिया जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनीहरू संगठित अन्तरराज्यीय लागूऔषध तस्करी सञ्जालमा संलग्न रहेको आशंकामा प्रहरीले गिरोहको स्रोत, कारोबार र अन्य संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्