०६ चैत्र २०८०, मंगलबार
Tags

बिराटनगर भन्सारमा भारत बाट मालसामान बोकी नेपाल आउने एउटै नम्बरको २ वटा ट्रक पक्राउ

रणभूमी आइतबार, मंसिर १९, २०७८

बिराटनगर / मंसिर १९, ठुला ठुला कम्पनीको सामान बोकेर नेपाल आउने एउटै नम्वरको दुर्इ वटा ट्रकलाई बिराटनगर भन्सार कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

बिराटनगर भन्सार कार्यालयमा भन्सार प्रमुख ताराप्रसाद सापकोटा आए पछि भन्सारमा कडाई गरिएको बेला एकीकृत जाँच चौकी अाईसिपिमा विहीवार एउटै नम्बरको दुई वटा ट्रक एकै ठाउँमा देखेपछि बिराटनगर भन्सार प्रशासनले नियन्त्रमा लिएर अनुसन्धान थालेको हो ।

भारतबाट माल सामान नेपाल ढुवानी गर्न प्रयोग भएको बिआर २५ जीए २१९४ रहेको भारतीय नम्बर प्लेटको दुर्इवटै ट्रकमा नम्बर र अल्फाबेट एउटै रहेको छ ।

एउटै नम्बर भएको मालवाहक ट्रकहरुलाई भन्सार प्रशासनले नियन्त्रणमा लिएपछि एउटा ट्रकको चालक सम्पर्क विहिन बनेका छन् । ट्रकको चालक सम्पर्क विहिन भएपछी बिराटनगर भन्सार प्रशासनले सो ट्रकहरु राजस्व छलीको लागी प्रयोग भएको हुनसक्ने अनुमान लगाउँदै गहन अनुसन्धान गरिरहेको बिराटनगर भन्सार कार्यालयकाे सूचना अधिकारी रामचन्द्र प्रसाद ढुङ्गानाले बताए ।

भन्सार कार्यालय जस्तो सम्वेदनशील ठाउँमा एउटै नम्बरको दुई वटा मालवाहक ट्रक एकैसाथ फेला पर्नुले धेरै प्रश्नहरुलाई जन्म दिएको छ । उक्त नम्बरको ट्रकहरुमा कहिले देखि कुन कुन कम्पनीको लागि सामान बोकेर कति पटक नेपाल आएको र त्यस्ता अरु पनि हुन सक्ने नसक्ने कुराहरु अहिले अनुसन्धान प्रक्रियामा रहेको छ ।

त्यसैगरी भारत को परिवहन पदाधिकारी सँग एउटै नम्बरको दुई वटा ट्रकको बिषयमा प्रतिकृया लिदा “एउटै नम्बरको दुर्इवटा गाडी हुन नसक्ने यद्यपी यस्तो भए पुरै गैर कानुनी भएको र यस्तो क्रियाकलाप गर्ने व्यक्तिले पनि गैरकानुनी प्रयोजनकै लागि प्रयोग गरेको हुनुपर्छ । त्यसैले यही ट्रक भारत तर्फ पक्राउ परेको भए जफत हुनेथियो भनी अररिया जिल्ला परिवहन पदाधिकारी विपिन कुमार यादवले बताए” ।

यहाँ कमेन्ट गर्नुहोस्