०६ बैशाख २०८१, बिहिबार
Tags

लुम्बिनीको उपप्रमुखमा अर्जुन कुर्मी को स्वतन्त्रबाट उम्मेदवारी दर्ता

रणभूमी डेस्क सोमबार, बैशाख १२, २०७९

भैरहवा / युवा अभियन्ता अर्जुन कुर्मीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख (उपमेयर) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी उनले वैशाख १० गते स्वतन्त्र रुपमा उम्मेदवारी दिने जानकारी गराएका थिए ।

लुम्बिनी क्षेत्रको विकासको लागि आफ्नो उम्मेदवारी रहने उनले बताए । ‘एक घर एक उद्यम’, कृषि, सिंचाई, खेलकुद मैदान, मलको आपूर्ति, प्राविधिक शिक्षालय लगायतको आधारभूत कुराहरु पुरा गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए ।

उपप्रमुखमा निर्वाचित भए लुम्बिनीमा होम स्टे सञ्चालन गर्ने, लुम्बिनीलाई ‘ग्रीन एण्ड क्लिन’ सिटीको रुपमा पहिचान दिलाउने, बिउबिजनमा अनुदान, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गराउने उनको भनाइ छ । त्यसै गरी लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन र स्वास्थ्य स्वयंसेविकाहरुलाई स्थायी रोजगारीको लागी पहल गर्ने उनले बताए ।

आफू कक्षा ९ मा अध्ययन गर्दादेखि नै विभिन्न संघ–संस्थामा लागेको र नेतृत्वसीपको भावना आएको उनले बताए । उनले स्काउट, ग्रीन क्लबमा आबद्ध हुँदै सामाजिक परिचालकको रुपमा समेत काम गरिसकेको जानकारी दिए । उनले ग्रीन युथ अफ लुम्बिनीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै वातावरण संरक्षणमा पनि निरन्तर लागेको बताए । त्यस्तै रेडक्रस, सुआहारा, बास लगायतका संघ–संस्थामा रहेर निरन्तर समाजमा काम गरेको उनले जानकारी दिए । लुम्बिनी साँस्कृतिक नगरपालिकावासीले आफूले गरेका कार्यहरुमा प्रोत्साहन गरेकाले उर्जा थपिएको बताए । उनले भने, ‘लुम्बिनीका युवा साथीहरुले उर्जा दिनुभएको छ, उपप्रमुख (उपमेयर) पद महिलाको लागि मात्र होइन, उपप्रमुखको धेरै भूमिका छ । ’युवाहरुमा नेतृत्व गर्ने क्षमता भएकोले मतदाता युवालाई नेतृत्वमा पुर्याउन चाहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्