रणभूमी सम्वाददाता सोमबार, फाल्गुण ०४, २०८२
विराटनगर / आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका युवा नेता मनोजकुमार अग्रवालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
जिल्लामै पछाडि परेको क्षेत्र नं. ५ को समग्र उत्थानको नारा लिएर चुनावी मैदानमा उत्रेका अग्रवालले भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मुख्य क्षेत्रमा केन्द्रित प्रतिबद्धता व्यक्त गरेका छन्।
भौतिक पूर्वाधारमा विशेष जोड
उम्मेदवार अग्रवालले रंगेली-विराटनगर जोड्ने हुलाकी मार्गलाई आधुनिक नमुना मार्गमा स्तरोन्नति गर्ने, दक्षिणी सीमा क्षेत्रमा नयाँ पूर्व-पश्चिम सडकमार्ग निर्माण गर्ने र सबै वडामा स्वच्छ खानेपानी टंकीको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष गरी दलित, सीमान्तकृत र सुकुम्बासी जनताको स्थायी घर-बसोबासको व्यवस्था मिलाउन र जनताले तिर्नुपर्ने विभिन्न कर तथा शुल्क कम गर्न पहल गर्ने उनको भनाइ छ।
कृषि र सिंचाइमा क्रान्तिकारी योजना
धनपालथान र जहदा गाउँपालिकालाई विशेष कृषि जोनको रूपमा विकास गर्ने र “बालीपकेट क्षेत्र” घोषणा गर्ने अग्रवालको योजना छ। किसानहरूको आय वृद्धिका लागि निःशुल्क तथा सहुलियत दरमा डिपबोरिङ्ग सिंचाईको व्यवस्था, सस्तो मल-खाद र कृषि औजारको प्रबन्ध गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधार
शिक्षा क्षेत्रमा प्रत्येक वडामा कम्तीमा एक सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने, रंगेलीको जनता क्याम्पसलाई सुविधा सम्पन्न बनाउने र जहदा तथा धनपालथानका विद्यालयहरूलाई क्याम्पसमा स्तरोन्नति गर्ने योजना अग्रवालले सार्वजनिक गरेका छन्।
स्वास्थ्य क्षेत्रमा रंगेली अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउने, सबै वडामा प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने र आर्थिक विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ।
उद्योग-व्यापार र रोजगारी सृजना
बन्द भइसकेका जुटमिल्स, सुगरमिल, म्याच फ्याक्ट्री र साबुन फ्याक्ट्रीलगायतका उद्योगहरू रहेको क्षेत्रलाई “विराट औद्योगिक क्षेत्र” घोषणा गरी नयाँ उद्योग स्थापनामा विशेष पहल गर्ने अग्रवालको योजना छ। युवा र महिलाहरूलाई निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम दिने र स्वरोजगार बनाउने उनको प्रतिबद्धता छ।
धार्मिक, सांस्कृतिक र पर्यटन विकास
ऐतिहासिक विराटराजाको दरबार, काली मन्दिर, संसारी माई मन्दिर, रानी पोखरीलगायत धार्मिक तथा पर्यटकीय स्थलहरूको पुनर्निर्माण र विकास गर्ने योजना उम्मेदवार अग्रवालले सार्वजनिक गरेका छन्। पालिका स्तरमा सांस्कृतिक संग्रहालय निर्माण र एक बृहत् क्षेत्रीय संग्रहालय स्थापना गर्ने उनको प्रतिबद्धता छ।
रेलवे विस्तारको पहल
हाल अवरुद्ध रानी-कटहरी रेलवे शीघ्र सञ्चालनमा ल्याउने र छोटो रुटको रूपमा रानी-रंगेली रेलवे विस्तार गर्न विशेष पहल गर्ने अग्रवालको घोषणा छ।
विशेष वर्ग र जेष्ठ नागरिकका लागि कार्यक्रम
युवा, महिला र जेष्ठ नागरिकहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, निरक्षर र असक्त वर्गलाई निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने र छुवाछुत, महिला हिंसा र बालविवाहजस्ता सामाजिक विकृति निर्मूल पार्न अभियान चलाउने उनको प्रतिबद्धता छ।
“मेरो क्षेत्र, मेरो जिम्मेवारी” को नाराका साथ चुनावी मैदानमा उत्रेका अग्रवालले मतदातालाई पार्टीको चुनाव चिह्न सूर्यमा मत दिन आह्वान गरेका छन्। विद्यार्थी जीवनदेखि नै पार्टी र जनताको पक्षमा सक्रिय रहेका अग्रवालले आफूलाई जनताको वफादार सेवकको रूपमा प्रस्तुत गरेका छन्।
उनले जिल्लाकै पछाडि परेको क्षेत्र नं. ५ लाई विकासको मूलधारमा ल्याउन र बासिन्दाहरूको मुहारमा खुशियाली ल्याउन एक सच्चा जनसेवकको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।