रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण ०५, २०८२
विराटनगर / प्रतिनिधि सभा सदस्यको उम्मेदवार राजकुमार यादवले मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का मतदातालाई सम्बोधन गर्दै एक बहुआयामिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। “विकास कागजमा सीमित रहनेछैन, जमिनमा देखिनेछ” भन्दै उनले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन र पूर्वाधार विकासमा ठोस र कार्यान्वयनयोग्य प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्।
यो प्रतिबद्धता पत्रमा क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, “अब मोरङ ५ प्रतीक्षामा होइन, नेतृत्वको तयारीमा छ।” उनका प्रमुख प्रतिबद्धताहरू निम्नानुसार छन्:
१. शिक्षा: गुणस्तरको सुनिश्चितता
शिक्षा क्षेत्रमा यादवले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने वाचा गरेका छन्। प्राविधिक तथा सीपमूलक शिक्षामार्फत युवालाई दक्ष बनाइनेछ भने विपन्न र मेधावी विद्यार्थीहरूलाई अवसरबाट वञ्चित हुन नदिइने प्रतिबद्धता व्यक्त गरिएको छ। उच्च शिक्षाका अवसर स्थानीय स्तरमै सिर्जना गर्ने लक्ष्य समेत सार्वजनिक पत्रमा समेटिएको छ।
२. स्वास्थ्य: उपचार होइन, अधिकार
स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा प्रभावकारी सेवा पुर्याउने, अस्पताल र स्वास्थ्य चौकीहरूलाई आधुनिक साधन-स्रोतले सुसज्जित गर्ने, र विशेषज्ञ चिकित्सक तथा आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। मातृ-शिशु स्वास्थ्य र जेष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखिनेछ।
३. रोजगार: युवा विदेश होइन, अवसर यहीँ
बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने र नयाँ उद्योग स्थापना गर्ने प्रतिबद्धता यादवको घोषणापत्रको केन्द्रीय बिन्दु हो। सीप विकास, स्टार्टअप प्रवर्द्धन र स्वरोजगारमा प्रत्यक्ष सहयोग गरिनेछ भने महिला उद्यमशीलता प्रवर्द्धनका लागि ऋण सुविधासमेत प्रदान गरिनेछ। वैदेशिक रोजगारमा जाने युवाहरूका लागि सुरक्षा र परामर्श केन्द्र स्थापना गरिनेछ।
४. कृषि: किसानको पसिना सम्मानित हुनेछ
कृषि क्षेत्रमा बाँझो जमीन राख्न नपाइने नीति अपनाइनेछ। मल, बीउ र सिंचाइको सहज उपलब्धता सुनिश्चित गरिनेछ, कृषि उपजको उचित मूल्य र बजार सुनिश्चित गरिनेछ र आधुनिक कृषि प्रविधि तथा यान्त्रीकरणको विस्तार गरिनेछ। दुग्ध, तरकारी, फलफूल तथा पशुपालन क्षेत्रमा विशेष अभियान सञ्चालन हुनेछ।
५. पूर्वाधार विकास: देखिने गरी
सडक कालोपत्रे, पुल निर्माण र ढल व्यवस्थापन तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सुरक्षित खानेपानी र विद्युतको विस्तार, बाढी नियन्त्रण तथा तटबन्धमा विशेष योजना, र कोष बजार, खेलमैदान तथा सामुदायिक संरचना निर्माणलाई प्राथमिकतामा राखिनेछ।
६. पर्यटन: पहिचानबाट समृद्धि
पर्यटन प्रवर्द्धनका लागि विराट राजाको ऐतिहासिक दरबारको संरक्षण तथा सौन्दर्यीकरण गरी राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिनेछ। सन्सारीमाई मन्दिर (रहेली) को भौतिक संरचना स्तरोन्नति र राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिनेछ। धार्मिक-सांस्कृतिक महोत्सव आयोजना, ग्रामीण पर्यटन र होमस्टे विस्तारमार्फत स्थानीय आय बढाइनेछ। पर्यटन क्षेत्रबाट युवालाई प्रत्यक्ष रोजगारी र उद्यम अवसर सिर्जना गरिनेछ।
७. स्पष्ट संकल्पहरू
यादवले आफ्नो प्रतिबद्धता पत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, जनताको आवाज सदनदेखि सडकसम्म बुलन्द राख्ने, सुकुम्बासीहरूलाई अधिकार, आवास र सम्मान दिने, र मोरङ ५ लाई विकासको नमूना क्षेत्र बनाउने अटुट प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको “अबकी बार राजकुमार” भन्ने नाराले क्षेत्रमा चर्चा पाएको छ। मतदाताहरूमाझ यस प्रतिबद्धता पत्रप्रति सकारात्मक प्रतिक्रिया आइरहेको र आगामी निर्वाचनमा यी प्रतिबद्धताहरूले निर्णायक भूमिका खेल्ने देखिन्छ।