रणभूमी सम्वाददाता बुधबार, फाल्गुण ०६, २०८२
विराटनगर / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढ्दै गएको छ। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाइरहेका बेला राष्ट्रिय उर्जाशील पार्टी, नेपालले संगठन विस्तार अभियानलाई थप गति दिएको छ।
चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले रंगेली नगरपालिका अन्तर्गत रंगेली बजार र धनपालथान गाउँपालिका अन्तर्गत कर्सिया बजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ। यसअघि विराटनगरको रानीमा मुख्य चुनावी कार्यालय स्थापना गरिसकेको पार्टीले क्षेत्रगत संरचना मजबुत बनाउने रणनीतिअनुसार नयाँ कार्यालय विस्तार गरेको जनाएको छ।
पार्टीका केन्द्रीय अध्यक्ष तथा मोरङ–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेन्द्र मण्डलले दुवै कार्यालयको उद्घाटन गरेका हुन्। २०७९ सालको आम निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मण्डलले ‘जेनजी’ आन्दोलनको भावना र जनचाहनालाई सम्बोधन गर्ने उद्देश्यले आफ्नै नेतृत्वमा राष्ट्रिय उर्जाशील पार्टी गठन गरेका थिए। पार्टी गठनसँगै संगठन विस्तार र चुनावी अभियानलाई समानान्तर रूपमा अघि बढाइएको छ।
रंगेलीमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष मण्डलले नयाँ सोच, नयाँ नेतृत्व र परिवर्तनको संकल्पसहित अघि बढेको बताए। नेपालवादको सिद्धान्तलाई आत्मसात् गर्दै विभाजनको राजनीति होइन, एकता र पारदर्शिताको अभ्यास गर्ने उनको भनाइ थियो।
कर्सिया बजारमा आयोजित कार्यक्रममा उनले जनताले दिएको विश्वासलाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वतन्त्र सांसदका रूपमा सुरु गरेका अभियानलाई अब पार्टीगत संरचनाको बलमा पूर्णता दिने लक्ष्य रहेको उनले बताए।
दुवै कार्यक्रममा स्थानीय युवा, किसान, महिला, विभिन्न पेशाकर्मी तथा सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ। सो अवसरमा विभिन्न दल परित्याग गरी सयौं स्थानीय नेता तथा कार्यकर्ता राष्ट्रिय उर्जाशील पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष मण्डलले युवाको ऊर्जा र अनुभवी पुस्ताको अनुभवलाई समेटेर पार्टी अघि बढ्ने बताए।