०७ बैशाख २०८१, शुक्रबार
Tags

बथनाहा-विराटनगर कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउन तयार – एसके चौधरी

रणभूमी डेस्क आइतबार, साउन ०८, २०७९

विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनमा आउन ढिला भएको छ । नेपालतर्फको निर्माणको काममा अवरुद्ध हुँदा रेल सञ्चालनमा ढिला भएको हो ।

रेल मार्ग सञ्चालन गर्ने सम्बन्धमा उद्योग संगठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका मेनेजर एसके चौधरीले विराटनगर देखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउन आफूहरू तयार रहेको बताए ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर चौधरीले १८ दशमलव ६ किलोमिटर लम्बाइ भएको वथनाह–विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताए । उनले नेपाल र भारत सरकारबिच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने बताए ।

उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिँदै उक्त सेन्टरको निर्माणपश्चात् अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने जानकारी दिए ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए ।

नेपाल–भारत बिचको व्यापार अभिवृद्धिमा रेल सञ्चालनले यो क्षेत्रको आर्थिक गतिविधिमा कोशेढुंगा साबित हुने बताउँदै उनले स–साना वाधा व्यवधानलाई अविलम्ब समाधान गर्न आग्रह गरे । मालवाहक रेल्वे सञ्चालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गर्दै निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको पनि बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रक्रियाको काम पूरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने उनको भनाई थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरू समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजश्व संकलन समेत प्रभावित भएको बताए ।

अहिलेको अवरोधलाई कार्गो रेल सञ्चालनमा आएपछि समस्याको मुख्य समाधानको रूपमा कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताए । नेपालको रेल विभागका इन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलीले निर्माणाधीन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रक्रिया पूरा गरेपश्चात् विराटनगर वथनाह रेल सञ्चालनमा आउने बत्ताउँदै त्यसको लागि तयारी भइरहेको जानकारी गराए ।

उद्योगी प्रदीप मुरारकाले यस क्षेत्रका इडिबल आयल उत्पादन गर्ने उद्योगहरूका कच्चा पदार्थ स्टोर गर्न आफ्नै खर्चमा टेंक निर्माण गर्न तयार रहेको बताउँदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरेका थिए ।

संगठनका पूर्व अध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानी जम्नुका साथै नेपालको मालसामान रातीका समयमा अनलोड गर्न समस्या भइरहेकोले ती समस्या समाधान हुनुपर्नेमा जोड दिएका थिए ।

नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरूको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्न जोड दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्