रणभूमी सम्वाददाता मंगलबार, मंसिर ०२, २०८२
बिराटनगर / प्रहरीले बिराटनगर विमानस्थलबाट करिब १८ लाख रुपैयाँ बराबरको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ। विलबिजक बाहेक लत्ताकपडा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर २ गते बिहान साढे सात बजे बिराटनगर विमानस्थलको कम्पाउण्ड परिसरभित्र साडी, कुर्ता सुरुवाल जस्ता कपडा प्लाष्टिकको बोरामा प्याक गरी ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीको अनुसन्धानमा सुनसरी देवानगञ्ज गाउँपालिका-७ बस्ने मनिष यादवले प्रदेश १-०४-००२ प ६५४० नम्बरको स्कुटरमा कपडा विमानस्थल कम्पाउण्डभित्र छाडेर गएको खुलेको छ। प्रहरीले चालकलाई खोजतलास गर्दा बिराटनगर महानगरपालिका-४ स्थित शारदा अग्रवालको घरमा चालकसहित फेला पारेको जनाएको छ।
उक्त घरमा खानतलासी गर्दा प्र१-०४-००१ च १४५१ नम्बरको पिकअप गाडीमा लोड गरी राखेको अवस्थामा जम्मा १ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले पिकअपका चालक बिराटनगर महानगरपालिका-४ बस्ने तनवीर मुस्ताकिनलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरीले दुवै जनालाई सवारी साधनसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो।