पवन शाह शनिबार, माघ १७, २०८२
विराटनगर / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा विराटनगर महानगरपालिका–१६ स्थित चाइना मार्केट क्षेत्रका पसलहरूमा रहेका ‘चोर ढोका’ बन्द गर्नुपर्ने भन्दै सुरक्षा निकायले माग गरेका छन्।
नेपाल–भारत सीमानजिक रहेको करिब ३ सय मिटर लामो यस बजार क्षेत्रका अधिकांश पसलहरूमा भारततर्फ खुल्ने गोप्य ढोका रहेको र त्यसले अवैध गतिविधिलाई सहज बनाइरहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीका प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक खड्काले बताए।
रानी भन्सार कार्यालयको तीन नम्बर ढाटको उत्तरतर्फ सुरु हुने चाइना मार्केटमा सयौँ पसल छन्। यी पसलका पछाडि भारततर्फ खुल्ने ढोकाबाट भन्सार छली सामान ल्याउने गरिएको सुरक्षाकर्मीहरूले बताएका छन्।
डिएसपी खड्काले सुरक्षा बैठकहरूमा पटक–पटक चोर ढोका बन्द गर्न प्रस्ताव राखेको बताए। “यी ढोकाहरू अवैध कारोबारको प्रमुख माध्यम बनेका छन्। निर्वाचन अवधिमा सुरक्षा चुनौती थप बढ्न सक्छ,” उनले भने।
दशगजासँगै टाँसिएर रहेका यी पसलहरूको एउटा ढोका सिधै भारततर्फ खुल्ने भएकाले अवैध सामानको ओसारपसार सहज भएको सुरक्षाकर्मीहरूले बताएका छन्। घना व्यवसाय र तिनपाङ्ग्रे सवारीसाधनको चापका कारण यस क्षेत्रमा निगरानी गर्न कठिनाइ भइरहेको छ।
सशस्त्र प्रहरीले मात्रै मासिक रूपमा करिब ३० देखि ४० लाख रुपैयाँ बराबरका सामान भन्सार छली भित्र्याइएको भन्दै बरामद गरी भन्सार दाखिला गर्ने गरेको तथ्यांक छ। विगतमा यही क्षेत्रबाट लागुऔषध र पेस्तोलजस्ता अवैध सामान बरामद भइसकेका छन्।
फाल्गुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चाइना मार्केटजस्ता संवेदनशील क्षेत्रमा थप सुरक्षा व्यवस्था आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
रानीका अन्य सुरक्षा निकायहरू पनि चोर ढोका बन्द गराउने पक्षमा रहेको जनाइएको छ।