१५ बैशाख २०८१, शनिबार
Tags

जोखिममा पर्न गएको उद्योगहरुको संरक्षणगर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सँग आग्रह

रणभूमी डेस्क मंगलबार, साउन १०, २०७९

विराटनगर / मोरंग व्यापार संघले उद्योग आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू सँग भेटघाट तथा छलफल कार्यक्रम गरिएको छ ।

मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको सभापतित्वमा संघमा आयोजित सो कार्यक्रममा उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने उद्देश्यले विराटनगर आउनु भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको प्रयासका लागि अध्यक्ष रिजालले धन्यवाद दिँदै स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

मन्तव्य दिने क्रममा अध्यक्ष रिजालले मन्त्री बडू समक्ष मुलुकको विद्यमान जटिल अवस्था बारे उल्लेख गर्दै मोरङ–सुनसरी औद्योगिक कोरिडोर सहित मुलुकभरिका उद्योगी /व्यवसायीहरुको हक, हित, संरक्षण एवं प्रर्वद्धनार्थ सरकारबाट ठोस कदमहरु चाल्न आग्रह गरेका थिए । सो क्रममा अध्यक्ष रिजालले पछिल्लो बजेट नीतिका कारण जि.आई. वायर, ध्यू तेल, सेनिटरी प्याड, स्टील आदि उद्योगहरु बन्द हुने चरणमा पुगेको, स्वदेशी लगानी जोखिम परेको, हजारौँ श्रमिकहरुको रोजगारी गुमेको तथा स्वदेशी आत्मनिर्भरता समेत जोखिममा पर्न गएको अवगत गराउँदै त्यसको समाधानार्थ माननीय मन्त्रीज्यूबाट तत्कालै कदम चाल्न र उद्योगीहरु पलायन हुने अवस्था श्रृजना हुन नदिन विशेष अनुरोध गरेका थिए । त्यसका साथै अध्यक्ष रिजालले सुनसरीको अमडुवामा आर्थिक क्षेत्र निर्माण गर्न संघको विगत लामो समय देखिको मागलाई बजेटले सम्बोधित गरिसकेकोमा सोको निर्माण कार्य अविलम्ब थालनी गर्न अनुरोध गरेको थियो । साथै अध्यक्ष रिजालले संघकै माग बमोजिम भारत सरकारले मीरगञ्ज पुलको समानान्तरमा नयाँ पुलको निर्माण गरिसकेकोले त्यसको शिघ्र संचालकालागि भारत सरकार समक्ष कुटनैतिक पहल गर्न, भारतीय नीति परिवर्तनहरुको शुक्ष्म अध्ययन गरी नेपालका नीतिहरु परिमार्जन गर्न, बंगलादेशमा नेपाली उत्पादनहरुको बजारीकरणका लागि पहल गर्न तथा स्वदेशी उद्योगहरुको प्रवद्धनार्थ सरकारबाट विशेष नीतिहरु अवलम्बन गर्न समेत अनुरोध गरेका थिए ।

त्यसै गरी कार्यक्रममा संघका पूर्व अध्यक्ष पवन कुमार सारडाले आफ्नो मन्तव्य दिँदै पछिल्लो बजेट नीतिका कारण हाल मोरङमा मात्र चार वटा जि.आई. वायर उद्योगहरु बन्द भएको र हजारौँ रोजगारी समेत गुमेको अवस्था बारे अवगत गराउँदै त्यस प्रति सरकारले कुनै चासो नदेखाएकाले सम्पूर्ण उद्योगीहरु हतोत्साहित भएको बताउनु भएको थियो । साथै, मुलुकको स्वदेशी उद्योग र व्यसायहरुको हकमा सरकारका अन्य निकाय भन्दा स्वयं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै सरकारी नीति नियमहरुको निर्माण, कार्यान्वयन एवं पुनरावलोकन गर्ने जिम्मा लिनु पर्ने तथा अन्य कुनै निकायबाट उद्योग व्यवसायहरुको हित विपरितका कार्यहरु हुन नदिने कार्यमा समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अग्रसर हुनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसै गरी संघका वाणिज्य उपाध्यक्ष अनिल कुमार साहले व्यवसाय बेगर औद्योगिक उत्पादनहरुको औचित्य अपूरो हुने गरेकाले सरकारले उद्योगी र व्यवसायीलाई समान दृष्टिकोणले हेर्नु पर्ने आग्रह गर्नु भएको थियो । त्यसै क्रममा संघका उद्योग उपाध्यक्ष विकास कुमार बेगवानीले गहुँ आयातमा नेपाल ८० प्रतिशत भन्दा बढि भारत माथि नै निर्भर रहेकोमा भारतले पछिल्लो समय गहुँ निर्यातमा गरेको कडाईका कारण हाल नेपालका करिब ३७ वटा फ्लोर मिल प्रभावित भएकाले नेपालका लागि गहुँको आयात सहजिकरण गर्न भारतीय सरकार समक्ष कुटनैतिक पहल गरिदिन अनुरोध गर्नु भएको थियो ।

त्यसैगरि संघका कार्यकारी सदस्य श्री अमित सारडाले ध्यू/तेल आयातको भन्सार महशुल पुनरावलोकन गर्नु पर्ने बताउनु भएको थियो भने कार्यकारी सदस्य श्री गोपाल अग्रवालले कच्चा पदार्थको आयातमा एक तह कम भन्सार महशुलको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्ने, मार्जिन रकम फिर्ता गर्न ढिला सुस्ती नगर्न बैंकहरुलाई निर्देशन दिइनु पर्ने आदि विषयहरु मन्त्री समक्ष अवगत गराएका थिए ।

संघका सचिव श्री संजय श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका पूर्व अध्यक्ष ताराचन्द खेतानज्यू र शंकरलाल अग्रवाल, नेपाल उद्योग परिसंघ, प्रदेश १का अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका का.वा. अध्यक्ष श्री प्रदिप मुरारका सहित विभिन्न उद्योगी /व्यवसायीहरुले आ–आफ्नो मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रमुख श्री नागेश कोइराला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव श्री बाबुराम गौतम र उप–सचिव श्री दुर्गा प्रसाद भुसाल, वाणिज्य कार्यालय विराटनगरका प्रमुख, गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरका प्रमुख, कम्पनी रजिष्ट्रार कार्यालय इटहरी प्रमुख, नेपाल आयल निगम, विराटनगरका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दिलेन्द्र प्रसाद बडूले मुलुकको विद्यमान आर्थिक अवस्था बारे आफू जानकार रहेको बताउँदै स्वदेशी उद्योग र व्यवसायको हक, हित, संरक्षण एवं समस्याहरु निराकरणार्थ आफू निरन्तर प्रयासरत रहेको जनाउनु भई जि.आई. वायर, ध्यू / तेल, सेनिटरी प्याड लगायतका उद्योगहरुका सम्बन्धमा बजेटमा भएका त्रुटिपूर्ण व्यवस्थाहरु सुधार गरिने आश्वासन दिनु भएको थियो । साथै, माननीय मन्त्रीज्यूले मुलुकको निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापनका लागि सरकारले विभिन्न कदमहरु चालिरहेको बताउनु भई कार्यक्रमबाट उठान भएका विषयहरुलाई समेत आफूले गम्भिरतापूर्वक लिएको र सोका लागि सरकारबाट नीतिगत निर्णयहरु लिइने आश्वासन दिनु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्