१२ बैशाख २०८१, बुधबार
Tags

एमालेकी नेतृ भगवती चौधरी र कांग्रेसका नेता विजयकुमार गच्छदार बिच चुनावी प्रतिस्पर्धा

रणभूमी डेस्क आइतबार, आश्विन ०९, २०७९

सुनसरी / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट लड्ने तरखरमा रहेकी नेकपा एमाले नेतृ भगवती चौधरी अहिले चुनावी तयारीमा छिन्। पूर्वराज्यमन्त्रीसमेत रहेकी चौधरी दुई पटकका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग चुनावी प्रतिस्पर्धा गर्दै छिन्।

चौधरी लगातार तेस्रो पटक गच्छदारसँग भिड्न लागेकी हुन्। गच्छदारसँग उनी २०७० सालको दोस्रो संविधानसभाको चुनाव र २०७४ सालको प्रतिनिधिसभाको चुनावमा पराजित भएकी थिइन्। दोस्रो संविधानसभाको चुनावमा चौधरी तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहेका गच्छदारसँग निकै कम मतान्तर (३६२ मत) ले पराजित भइन्।

पछि गच्छदार आफ्नो पार्टी कांग्रेसमा विलय बनाएर उपसभापतिका रूपमा २०७४ को निर्वाचनमा उठेका थिए। सो निर्वाचनमा पनि चौधरी झिनो मतान्तर (३२१ मत) ले पराजित भए। तर, अघिल्लो चुनावमा गच्छदारले धाँधली गरेर हराएको भन्दै सर्वोच्च अदालतसम्म पुगेकी चौधरीको मुद्दा विचाराधीन हुँदै औचित्यहीन अवस्थामा पुग्यो।

गच्छदारले निर्वाचन आचारसंहिताविपरीत लतपतिएको र बदर मतसमेत रुख चिह्नमा गणना गर्न लगाएको लगायत आरोप लगाउँदै चौधरीले पुनः मतगणना गर्नुपर्ने मागसहित ११ पुस, २०७४ मा मुद्दा हालेकी थिइन्।

धाँधली गरेर चुनाव हराएका कारण सर्वोच्च पुगे पनि अदालतबाट न्याय नपाइएको गुनासो पोख्ने गरेकी चौधरी अब जनताबाट न्याय पाउने अपेक्षामा छिन्। अब पनि जनताले विश्वास गरेर जनप्रतिनिधि नबनाए आफूजस्तो नेतृ सुनसरी क्षेत्र नम्बर ३ का जनताले नपाउने उनको दाबी छ।

‘त्यसबेला धाँधली देखादेखी नै भएको हो, मैले उम्मेदवारका रूपमा नै सर्वोच्च गुहारेकी थिएँ तर अदालतबाट मैले न्याय नपाएकै अनुभूति भएको छ,’ उनले नवपथसँगको कुराकानीमा भनिन्, ‘यो निर्वाचन क्षेत्रका युवाहरूले सबै बुझेका छन्। त्यसैले पनि अदालतले नदिएको न्याय जनताले दिनेमा विश्वस्त छु।’

राज्यमा जान नपाउँदा आफ्नो भिजन, मिसन नै असफल भएको उनको भनाइ छ। निर्वाचन नजित्दा पनि राज्यबाट काम ल्याएर स्थानीयहरूलाई विकास र समृद्धिको झल्को देखाउन सफल भएको उनको भनाइ छ।

‘राज्यमा नगए पनि मैले यो क्षेत्रका लागि धेरै गरेकी छु, धेरैको चुलोचौको बालेकी छु,’ उनले थपिन्, ‘राज्यमा पुग्न साथ दिनुस्, मेरो भिजन र मिसन सबैलाई देखाउने छु। तर अझै पराजय हुने अवस्था आएमा यो क्षेत्रको मुहार फेरिँदैन। अघिल्लो धेरै पटक जित्नेहरू आफूमा विकास गरेका छन्। पुनः पराजित भएमा यहाँका जनताले भगवती चौधरीजस्ता मान्छे पाउन सक्तैनन्।’

नेपालको लघुवित्त क्षेत्रकी एक हस्ती मानिने चौधरी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छिन्। उनका प्रतिद्वन्द्वी गच्छदार भने विवादित व्यक्ति मानिन्छन्। पाँचपटक उपप्रधानमन्त्रीसहित १२ पटक मन्त्री बनेका गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बनमा समेत परेका थिए।

२०४८ यताका सबै आमनिर्वाचनका विजेता उम्मेदवार गच्छदारमाथि २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा लागेको थियो। ललिता निवासको जग्गा प्रकरणमा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि गच्छदारको सांसद पद निलम्बनमा परेको थियो।

मुद्दाका बखत पक्राउ पर्ने डरले फरारसमेत भएका गच्छदार २८ असार २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै सुटुक्क विशेष अदालतमा हाजिर भएका थिए। त्यसै दिन विशेष अदालतले उनलाई १० लाख धरौटीमा छोडेको थियो।

तर, एमालेको सरकारले भ्रष्टाचार मुद्दा लगाएको भए पनि आफू दोषी नरहेको जनाउँदै गच्छदारले मतदातालाई भावनात्मक ‘ब्लाकमेल’ गरिरहेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुँदा गच्छदारले गिनिज बुकमा समेत नाम लेखाउने भन्दै आफूलाई पुनः एकपटक मौका दिन आग्रह गर्ने गरेका छन्।

‘फेरि एकपटक चुनाव जितेमा थारू समुदायबाट सबैभन्दा धेरै पटक निर्वाचनमा विजय हाँसिल विश्व रेकर्ड बन्छ भन्दै उहाँले हरेक कार्यक्रममा भन्दै आउनु भएको छ,’ स्थानीय एक नेताले भने, ‘त्यसबाहेक आफूमाथि लागेको आरोपलाई झुटो साबित गर्न पनि निर्वाचित हुनुपर्ने भएकाले अन्तिम एकपटक पुनः भोट दिन अपिल गर्नुहुन्छ उहाँ।’ सांसद पद निलम्बनमा परे पनि पुनः निर्वाचनमा उठाएर कांग्रेसले गच्छदार निर्दोष रहेको सन्देश दिन खोजेको देखिएको उनको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्