१५ चैत्र २०८०, बिहिबार
Tags

भारतबाट आउनेहरुलाई नाकामा छैन चेक-जाँच, व्यवहारीकलाई कडाई व्यापारिकलाई छुट

रणभूमी डेस्क आइतबार, कार्तिक ०६, २०७९

विराटनगर / विराटनगर भन्सार कार्यालय रानीले भारतको जोगबनीबाट किनमेल गरेर फर्किने नेपालीहरुलाई कडाई गरेको छ । ३६५ दिन खुल्ला रहने नेपाल भारतको सीमामा रहेको जोगवनी बजारमा दैनिक हजारौ मानिसहरू करौडौं रुपैयाँ खर्च गरेर नेपाल फर्किने गरेका छन् । सोही क्रममा विराटनगर भन्सार कार्यालय रानीले लक्ष्य अनुसारको राजस्व संकलन नभएको भनी दशैं भरी जे पनि ल्याउँदा वास्ता नगरे पनि भन्सार कार्यालले तिहार र छठ पर्वको मुखमा भन्सार कडाई गरेकाे छ ।

यसपाली आर्थिक संकट का कारण देशको अर्थतंत्र डामाडोल अवस्थामा रहेको कुरा अझै चर्चामा छ। विराटनगरका व्यापारीहरु पनि आर्थिक शंकटका कारण धराशायी अवस्थामा रहेका बेला नेपाली ग्राहकहरुलाई नेपालमै किनमेल गर्ने वातावरण बनाई नेपाली व्यवसायीहरुलाई राहत हुने कुनैपनि किसिमको कार्यक्रम ल्याउने तर्फ कसैको ध्यानाकर्षण भएन । नेपालीहरूको महान चाड बडा दशैं र तिहारमा विराटनगर का व्यवसायीहरुलाई केही राहत हुन्छ की भनी सबै प्रतीक्षारत थिए । तर चाड पर्व नजिक आएर सकिन लागिसक्यो । दशैंको मौकामा अधिकांस देशकै विभिन्न ठाउँहरूबाट आउने नेपाली ग्राहकहरुको किनमेलको लागि भारतको जोगबनी रोजाई बन्यो । धुमधाम साथ मनाउने चाड बडा दशैंमा नेपालीहरु अरु चाडपर्व भन्दा बढी खर्च गर्छन् ।

यसपटक पनि दशैंमा लाखौं नेपाली ग्राहकहरु रानी नाकाको प्रयोग गरेर भारतको जोगवनीबाट किनमेल गरेर फर्किएका थिए। जसमा कही कतै कसैलाई कुनै पनि रोकटोक थिएन। नेपाली ग्राहकहरुमा सर्वसाधारण मानिसहरू मात्र नभई उच्च ओहोदामा बसेका सरकारी निकायका कर्मचारी सुरक्षा निकायका कर्मचारी लगाएत विभिन्न राजनीति कर्मीहरु पनि सामेल थिए। जसबाट नेपाली बजारलाई हेला गरेको मात्र प्रस्ट भएन सरकारी सवारी साधन दुरुपयोग तथा राजस्व छली गरेको पनि देखियो ।

अहिले तराईबाशीहरुको महान चाड तिहार तथा छठ पर्वमा चाहिने दियो, बती, पूजाको सामान, ढक्की, नाङ्लो, छठ पूजामा अनिवार्य चाहिने सुती साडी र भाइटीकामा बहिनीले दाजु भाईलाई दिने रुमाल, तौलिया र भाई मसालाको लागि जोगबनी बजार जाने गरेका छन् । सोही मौकामा लक्ष्य अनुसारको राजस्व संकलन नभएको भनी विराटनगर भन्सार कार्यालय रानीले निजी गुन्टा झिटी भारीको सूचना जारी गरेर १ साय रुपैयाँ भन्दा बढीको सामान भारतबाट खरिद गरेर नेपाल ल्याए अनिवार्य राजस्व तिर्नुपर्ने र व्यापारिक प्रयोजनका सामानहरू भए एकिकृत जाँच चौकी आईसीपी बाट ल्याउन सूचना जारी गरेका छन् ।

नेपाल सरकारले विदेशबाट ल्याउन प्रतिबन्ध लगाएको सामग्रीहरू व्यापारिक प्रयोजनको लागि जोगबनीबाट दैनिक २० लाख बढीको सामानहरू महिला तथा बाल बालिकाको प्रयोग गरेर मुख्य नाकाबाटै नेपाल भित्रयाउने व्यापारीहरुलाई भने कुनै पनि किसिमको रोक टोक नभएको देख्न सकिन्छ ।

पहिले त भारतबाट जसले जेसुकै ल्याए पनि भन्सार कार्यालयले वास्ता नगर्ने त्यतिकै छाडिदिने गरेको देखिन्थ्यो तर अहिले पनि भन्सार नाकामा कार्यालयले दुई जना अधिकृत खटाएर सर्वसाधारणहरुलाई मात्र लक्षित गरी चेक जाच तथा राजस्व असुली गर्ने कार्य भईरहेको देख्न सकिन्छ।

दमक, विराट् चौक, इटहरी, धरान, दुहवी र विराटनगर गरेर ५० जना भन्दा बढीको संख्यामा मुख्य नाका बाटै अवैध कारोवार गर्ने व्यापारीहरूले विराटनगर नाका नजिकै रहेको विराटनगर -१७ स्थित धुनिया पट्टीको महिला तथा बालबालिकाहरुलाई प्रयोग गरेर नेपाल सरकारले प्रतिबन्ध लगाएको तथा नेपालमा पनि उत्पादन हुने सामानको विकल्पमा रहेको सामानहरू दैनिक ठूलै परिमाणमा रानी नाकाबाट आयात हुनेगरेका छन् ।

व्यापारीले एक १२/१३ वर्षिय उमेर समूहको बालकलाई प्रयोग गर्दा १०/२० रुपैयाँ दिए बापत व्यापारीको २५ देखि ४० किलो वजन सम्मको भार टाउकोमा राखेर सीमा कटाउने गरेका छन् । त्यसरी आउने कुनै पनि सामानको भन्सार राजस्व भने तिरिन्दैन। नेपाल सरकारले प्रतिबन्ध लगाएको हुनाले पनि एउटै व्यापारीले दैनिक त्यही प्रतिबंधित किसिमको सामान ल्याउँदा पनि प्रतिबंधित भएको हुनाले राजस्व काटेको पनि देखाउ मिल्दैन। तर माथिल्लो निकायको सेटिङ बिना यी सब कार्य गर्न तल्लो दर्जाको कर्मचारीहरुको आट नपुग्ने स्थानियहरु बताउँछन् ।

रानी नाकाको यात्रु शाखा नजिकै ठुलो ठुलो पोका, बोरा, कार्टुन र झोलाहरुमा थुपारेको सामान नेपाल ल्याउँदा कुनै पनि ठाउँमा कुनै पनि किसिमको चेक जाँच नहुनेगरेको कुरा विराटनगर भन्सार कार्यालयमा छ्याप छ्याप्ती लागेको सिसी टिभि क्यामेरहरुमा खोज्दा कुनै प्रमाणको आवश्यकता पर्दैन ।

विराटनगर भन्सार कार्यालय प्रमुख तारा सापकोटा भन्नु हुन्छ राजस्व लक्ष्य भन्दा काम संकलन भएर गुन्टा झिटी भारीको सूचना पुनः लागू गरिएको हो यसमा तिहार र छठ पर्वको समय परेको मात्र हो । भन्सार नाका बाट कुनै पनि तस्करीजन्य क्रियाकलाप हुन्छ भने तपाईंहरू पक्डेर भन्सार बुझाउनुस् भनी प्रतिक्रिया दिनुभयो ।

चाड पर्व सँगसँगै आसन्न प्रतिनीधि सभा/प्रदेश सभा निर्वाचनलाई लक्षितगरी सीमावर्ती एरियाहरुमा सुरक्षाको दृष्टिकोणले कडाई हुनुपर्नेमा फितलो देखिन्छ । विराटनगरको सीमावर्ती एरियहरुमा अति संवेदनशील ठाउँहरुमा पनि मध्य रातमा केही व्यक्तिहरूको हलचल दैनिक हुनेगरेको छ । सीमावर्ती एरियामा रातिको १२ बजे देखि विहान चार बजे सम्म हुने बाहिरी मान्छेको शंकास्पद गतिविधि तर्फ समेत सुरक्षाकर्मीहरुको ध्यान जान सकेको छैन ।

सोही विषयमा स्थानिय सँग प्रतिक्रिया लिँदा विराटनगर महानगर पालिका -१७ नं वडा का सदस्य मञ्जर आलम भन्छन् लाखौं राजस्व तिर्नुपर्ने सामान हजारको मूल्यांकन गरेर मुख्य भन्सार बाटै भन्सार अधिकृतहरुले पठाउँदै आएको कुरा प्रहरीहरुले धेरै पटक पक्राउ गरी राजस्व कार्यालय इटहरीलाई बुझाएको कुरा ले प्रस्ट हुन्छ । यो सर्वसाधारण जनतालाई दुःख दिएर आफ्नो काम कर्तव्य बाट जोगिने कार्या गरेकोे मात्र हो भन्सारले । आलम ले भने सरकारी सवारी साधनको दुरूपयोग गरेको विषयमा आवज उठाउँदा हाम्रो आवाज दबाउनको लागि भन्सारले आम उपभोक्तालाई दुःख दिनेगरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्