०६ चैत्र २०८०, मंगलबार
Tags

साढे ३ करोडको लागतमा विराटनगर -१४ मा विराट एक्स्पो २०७९ हुँदै

टिकट दर १० बजे देखि ४ बजे सम्ममा ५० रुपैयाँ र ४ बजे देखि १०० रुपैयाँ रहने

रणभूमी डेस्क सोमबार, मंसिर १९, २०७९

विराटनगर / विराटनगरमा कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत सातौँ विराट एक्स्पो २०७९ महोत्सव मेला विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पस परिसरमा मंसिर २९ गते देखि सुरु हुने भएको छ । मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरी पुस ६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

विराट एक्स्पो २०७९ महोत्सव मेलाको विषयमा पत्रकार सम्मेलन गर्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले विराटनगर–१४ को स्नातकोत्तर क्याम्पस परिसरमा रहेको पुरानो हवाई फिल्डमा आयोजना हुने प्रदर्शनीमा ३६१ वटा स्टल बुकिङ भइसकेको जानकारी दिनुभयो । जसमा पर्यटन, लगानी, श्रम रोजगार तथा सीप र स्टार्टअपका चारवटा पेभिलियनमा ५२ स्टल रहनेछन् । प्रायोजकका १०, उद्योग संगठन मोरङका ३४, औद्योगिक (कर्पोरेट तथा डिस्प्ले प्रोडक्ट) को एउटा डोममा ७५ स्टल रहने अध्यक्ष प्याकुरेलले बताउनुभयो । यसैगरी औद्योगिक (कन्जुमर प्रोडक्ट) का चारवटा डोममा ७५ स्टल रहनेछन् । जसमध्ये ४० वटा स्टल विराट व्यापार संघद्वारा प्रर्वद्धित हुनेछन् ।

प्रदर्शनी स्थलमा तीनवटा डोममा कृषि तथा साना घरेलु एवं सूचनामूलक सामाग्री राखिने भएको छ । यसका ७५ वटा स्टलमा प्रदेश सरकार कृषि मन्त्रालयद्वारा प्रर्वद्धित २० वटा स्टल र नेपाल घरेलु तथा साना उद्योग महासंघका १० वटा स्थल बताए ।

त्यसैमा मोरङ अटोमोवाइल एशोसिएन र नाडा प्रदेश १ परिसरमा २० वटा स्टल र खाद्य परिसरमा १० स्टल रहने व्यवस्था मिलाइएको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ सरकारको उद्योग, श्रम तथा रोजगार मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश लगानी प्राधिकरण, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ प्रदर्शनीको प्रवद्र्धक रहेका छन् ।

दुईलाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका मिल मेशिनरी, अन्य उत्पादन र छालाजन्य उत्पादन, बंगलादेशको गार्मेन्ट्स तथा भारतबाट हेल्थ किचेनका आईटमहरुको समेत स्टलहरु राखिने भएको छ ।

तीन करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रदर्शनीमा नितीगत विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

यस पटकको प्रदर्शनीमा आउने सहभागीहरुलाई निःशुल्क यातायात सेवाको सुविधा समेत उपलब्ध गराइएको छ । विराटनगर–१४ स्थित प्रदर्शनीस्थलमा आउने र घरसम्म पुग्नका लागि सातवटा सटल बसमार्फत सेवा उपलब्ध गराउने तयारी गरिएको हो ।

विराट एक्स्पोमा प्रवेश शुल्क बापतको टिकट दर १० बजे देखि ४ बजे सम्ममा ५० रुपैयाँ र ४ बजे देखि १०० रुपैयाँ रहने छ ।

यहाँ कमेन्ट गर्नुहोस्