१३ बैशाख २०८१, बिहिबार
Tags

रोटरी ले गर्यो विद्यालय भवन हस्तान्तरण

रणभूमी डेस्क मंगलबार, माघ १०, २०७९

विराटनगर / विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो। विराटनगर-६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर- २ स्थित विराट महेन्द्र रात्री स्कुल र विराटनगर-५ स्थित आधारभूत विद्यालयको भवन महानगरका मेयर कोइरालाले उद्घाटनसमेत गरे ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठको नेतृत्वमा विराटनगर-६ स्थित रामपुरको श्री जनचेतना आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ५२ लाख ५५ हजार, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठीको नेतृत्वमा विराटनगर २ कोचाखालस्थित विराट महेन्द्र रात्री विद्यालयको स्तरोन्नतिका लागि ३३ लाख १९ हजार र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालको नेतृत्वमा विराटनगर-२ स्थित श्री आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ३० लाख ८० हजाररुपैयाँ खर्च गरिएको परियोजना कोर्डिनेटर कमल अग्रवालले जानकारी दिए ।

विराटनगर-६ रामपुरस्थित जनचेतना आधारभूत विद्यालयमा सोमबार आयोजित विद्यालयको चाबी हस्तान्तरण कार्यक्रममा मेयर कोइराला र रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठलगायतका रोटरीयनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार साह हलुवाई र प्रधानाध्यापक जयन्ती दासलाई विद्यालयको चाबी हस्तान्तरण गरे ।

त्यस्तै विराटनगर २ को स्तरोन्नति गरेको भवनको चाबी मेयर कोइराला र वडाध्यक्ष कुमार पोखरेलले हस्तान्तरण गरे। जनचेतना आधारभूत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई साइकलसमेत हस्तान्तरण गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्