१४ बैशाख २०८१, शुक्रबार
Tags

सी.एन.आई. कोशी एक्स्पोको तयारी अन्तिम चरणमा, महोत्सवको टिकट अनलाईनबाट लिन मिल्ने

रणभूमी डेस्क मंगलबार, माघ १७, २०७९

विराटनगर / विराटनगरमा माघ १९ देखि २८ गते सम्म सञ्चालन हुने सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले पत्रकार सम्मेलन गरी बताएको छ ।

विराटनगर-२ को शंकरपुरको खाली चौरमा हुनलागेको सी.एन.आई. कोशी एक्स्पोको बारेमा पत्रकार सम्मेलन मार्फत महोत्सवको तयारीको विषयमा जानकारी साझा गरिएको थियो । तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । महोत्सवलाई सभ्य, भव्य एवं ऐतिहासिक बनाउन कुनै कसर बाँकी नराखी आयोजकले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष भीम घिमिरेले विद्यमान आर्थिक संकट र गलत सरकारी नीतिका कारण उद्योग व्यवसाय लथालिङ्ग बन्दै गएको अवस्थामा उद्योगी व्यवसायीलाई तङ्ग्र्र्याउन महोत्सवको आयोजना गरिएको बताए ।

उनले उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले उपभोक्ता र उत्पादनकर्ताबीचको संगम स्थलका रूपमा महोत्सवलाई अगाडि बढाउने बताए। अध्यक्ष घिमिरेले महोत्सवले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत ख्याती कमाउने बताए ।

महोत्सवका संयोजक राजेन्द्र राठीले प्रेस विज्ञप्ति वाचन गरेका थिए । उनले महोत्सवमा वृहत रूपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका स्टल रहने बताए । राठीले आफ्नो उत्पादनको प्रवर्द्धन गर्न उचित अवसर नपाएका स्थानीय तहका उद्यमीले महोत्सवमा स्टल राख्न पाएको बताए। राठीले घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका केहि उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको जानकारी दिए।

सह-संयोजक गिरीजा सारडाले मोटर याली र विभिन्न समूदायको आकर्षक झाँकी यालीबाट महोत्सवको शुरूवात गरिने बताइन् । उनले थेग्न नसकिने गरी स्टलको माग भएको बताइन् । महोत्सव स्थललाई सुरक्षित बनाइएको छ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने महोत्सव स्थल भित्र र बाहिर ७० वटा सीसी टिभी क्यामेराको जडान गरिएको छ । यस्तै १५/१५ प्रहरी रहने गरी महोत्सव स्थलभित्र सशस्त्र र जनपदको प्रहरी बीटको स्थापना गरिने छ । महोत्सवमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहनेछन् ।

लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकला, घरेलु सामग्रीबाट निर्मित जुत्ता चप्पल, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् ।

हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन महोत्सवमा राखिने छ । महोत्सवमा ४० देखि ५० करोड हाराहारीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

महोत्सवमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत मुलुकबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीले समेत आफ्ना उत्पादनको प्रवर्द्धनका रूपमा महोत्सवको उपयोग गर्ने छन्।

स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका राष्ट्रिय कलाकारले महोत्सवमा रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम प्रस्तुत् गर्ने छन् । महोत्सवका लागि अनलाईन टिकट खरिदको पनि व्यवस्था छ । थारू जातीको परम्परागत घर, सेल्फी पुल, फनपार्कले अवलोकनकर्तालाई महोत्सवमा आकर्षण गर्ने विश्वास लिइएको छ।

महोत्सवले सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउने परिसंघका उपाध्यक्ष नवलकिशोर काबराले बताए । सम्मेलनमा परिसंघका सल्लाहकार महेश जाजु, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायतको सहभागिता थियो ।

यहाँ कमेन्ट गर्नुहोस्