१६ चैत्र २०८०, शुक्रबार
Tags

सीएनआई कोसी एक्स्पोको २०७९ को भव्य उद्घाटन (फोटो फिचर सहित)

रणभूमी डेस्क शुक्रबार, माघ २०, २०७९

विराटनगर / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले स्थापनाको डेढ बर्षमै आयोजना गरेको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ को बिहीबार भव्य रुपमा उद्घाटन भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गरेका छन् ।

ओलीले अन्य शहरहरुको तुलनामा विराटनगर औधोगिक व्यवसायिक रुपमा पछि परेको भन्दै अब त्यस्तो छुट नभएको बताएका छन् । उनले अहिलेको सरकार उद्योगी व्यवसायीहरुको कुरा सुन्न तयार रहेको भन्दै डेढ बर्षसम्म धरासायी बनेको मुलुकको अर्थतन्त्र अब लयमा फर्किने बताए ।

अहिलेको सरकार बनेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तनहरु हुन थालेको ओलीले दाबी गरे । सरकारले चालेका ठोस कदमका कारण अर्थतन्त्र सहि दिशामा अघि बढेको उनले बताए ।

आर्थिक क्षेत्रको बिषयमा कुरा गरेर जुवारी खेल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुका उपयुक्त सुझावहरुलाई सरकारले ग्रहण गर्ने बताए । सरकारको सवैभन्दा ठुलो दलको नाताले आफ्नो पार्टी सरकारमा सहभागी भइरहेको अवस्थामा उद्योगी व्यवसायीहरुको समस्या समाधान हुनेमा विश्वस्त हुन आग्रह गरे ।

‘अहिलेको सरकार भन्दा अगाडि अत्यन्तै बेथितीको अवस्था थियो, यो सरकार बनेको सवा महिनामै सकारात्मक कदम चालिएको छ, अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन ठोस काम भएको छ’ ओलीले भने, ‘सरकारको कुराले मात्रै उद्योगीहरुको च्यूरा चैं भिज्दैन, उद्योगी व्यवसायीहरुले पनि अनुपयुक्त मागहरु ल्याउनु हुँदैन, अहिलेको सरकारले सवैको कुरा सुन्छ ।’

पूर्वप्रधानमन्त्री ओलीले काममा प्रतिष्पर्धा गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । एमालेले चुनावताका सार्वजनिक गरेको घोषणापत्रका २० वटा ग्यारेन्टीहरुलाई अहिले सरकारमा भएको हिसावले कार्यन्वयन गर्ने बताए । प्रदेश १ मा गुराँसको तेलको ठुलो सम्भावना भएकोले उद्योगी व्यवसायीहरु जागरुक भएर लगानीको वातावरण खोज्न उनले आग्रह गरे ।

विराटनगर राजनीतिक रुपमा जागरुक थलो भएको भन्दै आर्थिक रुपमा पनि अघि बढ्नुपर्नेमा जोड दिए । ओलीले विगतको सरकारलाई नालायक भन्दै आलोचना पनि गरे । विगतको सरकारले आर्थिक क्षेत्रलाई निराशाजनक बनाएको आरोप लगाउँदै उनले भने, ‘डेढ बर्ष नालायक सरकार बन्यो, आर्थिक क्षेत्रमा यस्तो अवस्था कहिल्यै थिएन ।’ समस्या आयो भन्दै आत्महत्याको बाटो रोज्ने बिषय निकै दुखद भएको उनले बताए ।

आफ्नो राजनीतिक जीवनमा भोग्नु परेको जेलनेलको दृष्टान्त दिंदै पूर्वप्रधानमन्त्री ओलीले हरेक समस्याका विरुद्ध लड्न सक्ने हिम्मतका साथ उद्योगी व्यवसायीहरु उभिने बताए । त्यसका लागि सरकार पनि उद्योगीहरुको साथमा रहेको भन्दै सान्त्वना दिए । साथै निजी क्षेत्र पनि स्वस्थ्य हिसावले अघि बढ्दै कर संकलनमा सहयोग गर्न आग्रह गरे ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालकै प्रतिष्ठित उद्योगहरु प्रदेश १ बाटै सुरु भएको स्मरण गर्दै उनले औधोगिक क्षेत्रका समस्यालाई तीन तहका सरकार मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले प्रदेश खारेज गर्नुपर्छ भन्ने धारणा अहिल्यै बनाउन नमिल्ने भन्दै प्रदेश सरकारले गरेका राम्रा कामको निजी क्षेत्रले पनि प्रशंसा गर्नुपर्ने बताए ।

धेरै समस्याका बिचबाट पनि उद्योग व्यवसाय अघि बढाउने उद्योगी व्यवसायीहरुका लागि यस्ता औधोगिक प्रदर्शनीहरुले आर्थिक रुपमा अघि बढ्न प्रोत्साहन गर्ने बताए । आफुले पहिलो पाँच बर्षमा प्रदेशको राजधानी विराटनगरलाई तोक्नका लागि नजिकबाट भूमिका निर्वाह गरेको मुख्यमन्त्री कार्कीले बताए ।

संघीय सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रविधिमैत्री अर्थतन्त्रको विकास गर्दै सरकारले निजी क्षेत्रका समस्यालाई समाधानको बाटो तयार गरेको बताए । उनले उत्पादन र उपभोगको प्रवद्र्धन गर्ने उदेश्यले एक्स्पो आयोजना हुनुले अप्ठेरोमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन भूमिका निर्वाह गरेको बताए ।


सरकारले विलासिताका वस्तुहरुको आयातलाई निरुत्साहन गर्दै व्यापार घाटा कम गर्ने नीतिमा रहेको मन्त्री भण्डारीले बताए । चाँडै विराटनगरसम्म भारतबाट कार्गो रेल संचालन हुनेमा आफु विश्वस्त रहेको पनि बताए ।


‘निरासा छाएको उद्योग क्षेत्रमा आर्थिक संकुचनको कारण सरकारले खोज्ने छ’ मन्त्री भण्डारीले भने, ‘उद्योग संचालन गरेकै कारण हुने हिनताबोध अन्त्य गर्न सरकारले उद्योगी व्यवसायीहरुको साथ दिनेछ, आर्थिक क्षेत्रलाई फेरी सवैको सहयोगमा माथि उठाउन प्रयास हुनेछ ।’

 

मन्त्री भण्डारीले विगत १८ महिनामा सरकारबाट उत्पन्न गरिएका समस्याले आर्थिक क्षेत्रमा निरासा पैदा गरेको भन्दै वर्तमान सरकारले अवस्था सुधारका लागि नीति अघि बढाइसकेको जानकारी दिए । सरकार निजी क्षेत्रकै साथमा रहेको कुरा महसुस गराउने प्रतिवद्धता पनि जनाए । साथै बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजदर पनि नियन्त्रण गर्न सरकार प्रयासरत रहेको बताए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णु कुमार अग्रवालले एक्स्पो उद्योग र उद्योगीहरुको मनोबल उकास्न मद्दत गरेको बताए । उद्योगीहरु कठिन अवस्थामा गुज्रिनु परेको र उत्पादनको मागमा संकुचन पैदा भएको प्रति चिन्ता व्यक्त गरे ।

‘हामीले नै गरेको एउटा अध्ययन अनुसार ८० प्रतिशतसम्म उत्पादनको माग संकुचन भएको छ’ अग्रवालले भने, ‘अहिलेको सरकारले गरेका केही प्रयासले आशाको किरण पनि छाएको छ, चुनौतिपूर्ण बनेको बजेट कार्यन्वयन गर्न हामीले दिएको सुझाव सरकारले अवश्य सुन्ने छ ।’
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको औधोगिक विकासको इतिहाँस गर्विलो रहेपनि अहिले छैटौं स्थानको शहर बनेको भन्दै चिन्ता व्यक्त गरे । उनले विराटनगरको शाख फर्काउन एक्स्पोले महत्वपूर्ण दायित्व पुरा गर्ने विश्वास व्यक्त गरे ।
विराटनगरमा अहिलेपनि व्यवस्थित खालको प्रदर्शनी स्थलको अभाव रहेको भन्दै तीन तहका सरकार र निजी क्षेत्र मिलेर त्यसको समाधान खोज्नुपर्ने बताए ।

‘प्रदर्शनी स्थलको बिषयमा छलफल गर्न महानगर सँधै तयार छ, तीनै तहको सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’ कोइरालाले भने, ‘बथनाहा–कटहरी रेल मार्गको अवरोध हटाउनका लागि सवैको सहयोग खाँचो छ ।’ काठमाडौंबाट मात्रै हुने गरेको माउण्टेन फ्लाइटलाई विराटनगरबाट पनि अघि बढाउन कोइरालाले आग्रह गरे ।

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले उद्योगीहरुले ओली सरकारको पालामा उद्योगीहरुले राहतको महसुस गरेको बताए । ओलीले नै व्याप्त चन्दा आतंक तोडेको, उद्योगीहरुको दुखेसो सुनेर समस्या समाधान गरिदिएको बताए ।

घिमिरेले निजी क्षेत्र बैंकको चर्को ब्याजदर, विमा कम्पनीको प्रिमियम र लोडसेडिङको समस्याले अत्यन्तै प्रभावित भएको भन्दै उद्योगीहरु आत्महत्या गर्ने अवस्थासमेत बनेको प्रति चिन्ता व्यक्त गरे । यस्तै समस्याका कारण एक दर्जन जति उद्योगी व्यवसायीहरुले आत्महत्या गरिसकेको भन्दै उनले आत्महत्या गरेका उद्योगी व्यवसायीलाई सहीद घोषणा गर्न माग गरे ।

‘कोभिडका कारण थला परेका उद्योग व्यवसायलाई बैंक, विमा कम्पनी र विद्युत प्राधिकरणले अझै थिलथिलो बनाइदिएको छ, हामीबाट साहु महाजनले जस्तो ३६ प्रतिशत ब्जाज असुली गरिएको छ’ घिमिरेले भने, ‘अघोषित लोडसेडिङ कायमै छ, हाम्रा समस्या सुनाउँदा विद्युत प्राधिकरणमा एमडीले उल्टै तह लगाउने भनिरहेका छन्, हामी डिप्रेसनमा जाने अवस्था भएको छ ।’

घिमिरेले बैंकहरुले ८० प्रतिशतसम्म नाफा लिइरहेको तर निजी क्षेत्र भने बर्षेनी धरासायी बनेको भन्दै चिन्ता व्यक्त गरे ।

भव्य बन्यो उद्घाटन बिहीबार आयोजित सीएनआई कोसी एक्स्पोको उद्घाटन समारोह भव्य बनेको छ । देशभरीबाट सहभागी भएका करीव ४०० स्टलहरु एक्स्पोमा सहभागी भएका छन् । एक्स्पो स्थलको कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले समेत अवलोकन गरे ।

उद्घाटनमा बेलुन उडाइनुका साथै शान्तिको प्रतिक परेवा पनि उडाइएको थियो । बटुकहरुले स्वस्तिक वाचन गरेपछि ओलीले पानसमा बत्ति बालेर एक्स्पोको समुद्घाटन गरेका छन् । उनले गणेशको प्रतिमामा पूजा पनि गरे ।

कार्यक्रममा संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवति चौधरीसहित प्रदेश सरकारका मन्त्रीहरु, प्रतिनिधि सभाका सदस्य ऋषिकेश पोखरेल, योगेन्द्र मण्डल, प्रदेशसभाका सदस्यहरु, अग्रज उद्योगी व्यवसायी, राजनीतिक पार्टीका केन्द्रीय तथा प्रदेश स्तरका नेता कार्यकर्ता, एक्स्पोका प्रवद्र्धक स्थानीय पालिकाका प्रमुखहरु लगायतका उच्च ओहदाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
उद्घाटनअघि विभिन्न जातजातीको साँस्कृतिक पहिचान झल्किने झाँकीले विराटनगरको ट्राफिक चोकबाट एक्स्पो स्थल विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गसम्म पैदल यात्रा गरेको थियो । थारु, उराव, मुण्डा, बाँतर जातीको साँस्कृतिक झाँकीका साथै नेपाल प्रहरीको ब्याण्ड, महिलाहरुको समुहले बजाएको पञ्चेबाजा लगायत प्रदर्शन गरिएको थियो ।

एक्स्पो आयोजनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्य प्रायोजकका तर्फबाट सीएनआईका प्रमुख सल्लाहकार समेत रहेका महेश जाजुलाई सम्मान पत्र प्रदान गरिएको छ । त्यसैगरी एक्स्पोका संयोजक राजेन्द्र राठी, सहसंयोजक गिरीजा सारडा, एक्स्पोको तयारीका लागि विभिन्न जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गरेका साकेत राठी, पुनित पौडेल, सीएनआईवाइएफका कार्यवाहक अध्यक्ष शसांक बंसल लगायतलाई सम्मान पत्र प्रदान गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्