१६ चैत्र २०८०, शुक्रबार
Tags

एक्स्पो रोक्न उच्च अदालतबाट भएन निषेधाज्ञाको आदेश, एक्स्पो निर्वाध संचालन हुने

रणभूमी डेस्क शुक्रबार, माघ २०, २०७९

विराटनगर / बाटो छेकेर सीएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उदेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिएन ।

उच्च अदालत विराटनगरका न्यायधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको माग बमोजिम शुक्रबार विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आयोजित एक्स्पोमा सार्वजनिक सडकको आवागमन रोकिने गरी एक्स्पो आयोजना गरिएको भन्दै विराटनगर–९ का विन्दा नन्द नुन्दीले बिहीबार उच्च अदालत विराटनगरमा निषेधाज्ञा, उत्प्रेषण र परमादेशको माग गर्दै रिट निवेदन दिएका थिए ।

न्यायधीस गुप्ताको इजलासले विपक्षीहरु जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, नेपाल उद्योग परिसंघ प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको हो ।

आर्थिक मन्दी छाएको बेलामा एक्स्पोका माध्यमबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै उक्त स्थानमा रहेको निजी खाली जग्गामा एक्स्पोको आयोजना गरिएको थियो । सडकको दुईपटी रहेको खाली जग्गा मध्ये एउटामा जग्गामा मात्रै एक्स्पोका सवै संरचना नअट्ने भएपछि करीव ५० मिटर सडकलाई स्थानीय तह र सुरक्षा निकायसँगको समेत समन्वयमा बन्द गरिएको थियो ।

बन्द गरिएको सडक खण्डमा घरहरु नभएको र नजिकैबाट वैकल्पिक सडकको व्यवस्था भएको अवस्थामा त्यसले आवागमनमा कुनैपनि कठिनाई नहुने निश्कर्षमा सवै निकाय पुगेका थिए ।

उच्च अदालत विराटनगरमा बिहीबार निषेधाज्ञाको माग गर्दै रिट निवेदन दर्ता भएपछि एक्स्पो नै प्रभावित हुने हो कि भन्नेमा उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका थिए । तर अदालतले रिट निवेदक वादी पक्षको तर्फका कानुन व्यवसायीहरुको माग अपर्याप्त हुने भन्दै निषेधाज्ञाको आदेश नहुने ठहर गरेको हो ।
बैंकको चर्को व्याज, बीमा कम्पनीको चर्को प्रिमियन र विद्युत प्राधिकरणको अघोषित लोडसेडिङको मारमा रहेको उद्योगी व्यवसायीहरुले साहस गरेर आयोजना गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

उनले अदालतको आदेशले निजी क्षेत्रले चुनौति मोलेर आयोजना गरेको करोडौं लगानी भएको एक्स्पोलाई नियमित रुपमा अघि बढाउन ठुलो राहत भएको जानकारी दिए । घिमिरेले अदालतले दिएको कारण देखाउ आदेशलाई तोकिएको म्यादभित्र ससम्मान रुपमा जवाफ दिने बताए ।

यसैबीच बिहीबार उद्घाटन भएको सीएनआई कोसी एक्स्पोको दोस्रो दिन आज शुक्रबार पप संगीतका चर्चित स्टार सविन राई र उनको फारोह ब्याण्डको प्रस्तुति रहेको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्