२७ बैशाख २०८१, बिहिबार
Tags

विराटनगरमा डेङ्गु नियन्त्रणका लागि लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने

रणभूमी डेस्क मंगलबार, साउन १६, २०८०

विराटनगर / विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले माङलावार पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । कार्यबाहक मेयर शिल्पा निराला कार्कीले डेंगुको संक्रमण हुन नदिन ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी भएको बताउनुभयो । शुक्रबार सबै वडामा सामाजिक संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल संगठन, राजनैतिक दललगायतको सहभागितामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अभियानबाट जनचेतनासमेत वृद्धि भई महानगरवासी आफैं डेंगु रोगको नियन्त्रण र रोकथाममा लाग्ने बताउनुभयो । घरभित्रैबाट नियन्त्रणको अभियान सञ्चालन गर्न सकिए डेंगुको संक्रमण फैलिनबाट बच्न सकिने उहाँको भनाइ थियो । “डेंगु फैलिन नदिन घरभित्रैबाट अभियान सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “घरभित्रको कुलर, फ्रिज, गमला, बाल्टिनमा पानी जम्न दिनहुँदैन । महानगर हरेक घर पुग्न गाह्रो हुन्छ । यसमा महानगरवासी नै सचेत हुनुपर्छ र घरभित्र र वरिपरि पानी जम्न दिनहुँदैन ।”

उहाँले औषधि छर्किनु डेंगु नियन्त्रणको विकल्प नभएको बताउँदै कार्कीले खोज तथा नष्ट नै डेंगु नियन्त्रणको उत्तम विकल्प भएको बताउनुभयो । पत्रकार सम्मेलनमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले औषधि छर्किंदा मानवीय स्वास्थ्यमा समेत असर पर्ने बताउनुभयो । उहाँले घर वरिपरि पानी जम्न नदिने हो भने डेंगुबाट बच्न सकिने उल्लेख गर्नुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले १० हजार संक्रमित हुँदा ९ हजारमा कुनै लक्ष्मण नदेखिने जानकारी दिनुभयो । बाँकी १ हजारमा ४ सयमा सामान्य भाइरल ज्वरो आउने र ४ सयमा डेंगु ज्वरो आउने उहाँको भनाइ थियो । ४ सयमध्ये पनि १ सयलाई मात्रै डेंगु रोगको जटिल समस्या देखिने महाशाखा प्रमुख अलीले बताउनुभयो । अलीका अनुसार डेंगुका जटिल समस्या भएका बिरामीमध्ये २ प्रतिशत मात्रै मृत्युदर रहेको छ । महानगरभित्र हाल १२ जना बिरामी छन् । कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, रानी स्वास्थ्य केन्द्र र वैजनाथपुर स्वास्थ्य केन्द्रमा डेंगुको निःशुल्क चेकजाँचको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्