०८ चैत्र २०८१, शनिबार
Tags

विराट गोल्डकप: नवौं संस्करण फाल्गुण १९ देखि शुरु हुँदै, रु.२ सय को टिकट किन्दा रु.२ हजार छुट

रणभुमी डेस्क आइतबार, फाल्गुण १८, २०८१

विराटनगर / “विराटनगरको साथ फूटबलको विकास” भन्ने मूल नाराका साथ यही फाल्गुण १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा “रमपम विराट गोल्डकप फूटबल प्रतियोगिता २०८१” को नवौं संस्करण आयोजना हुने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक नविन रिजालले प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराए।
प्रतियोगितामा भारतबाट २ वटा र नेपालबाट विभागीय टिमहरु सहित ८ वटा गरी जम्मा १० वटा फुटबल टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको खेल तालिका प्रकाशित भइसकेको र शहिद रंगशालाको मैदान मर्मत र सरसफाइ कार्य सम्पन्न भएको जानकारी दिइएको छ।
यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगीहरुमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ र मोरङ उद्योग व्यापार संघ रहेका छन्।
प्रतियोगिताको प्रचारप्रसार विभिन्न माध्यमबाट भइरहेको छ। विराटनगर आसपासका क्षेत्रहरुमा सिटी रिक्साको माध्यमबाट प्रचार प्रसार, १८ स्थानमा एल गेट, ६ वटा होडिङ बोर्ड लगाउने कार्य सम्पन्न भइसकेको छ। साथै डिजिटल माध्यम (फेसबुक, टिकटक, युट्युब) मार्फत प्रचार प्रसार भइरहेको छ। विराटनगरका १० वटा स्कुल कलेजहरुमा प्रवर्द्धनात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजकमा रमपम रहेको छ भने गोल्ड स्पोन्सरमा ६ वटा, सिल्भर स्पोन्सरमा ११ वटा संस्थाहरु रहेका छन्। यसैगरी पावर बाई एनसेल, ३ वटा बैंकिङ पार्टनर, १ इन्स्योरेन्स पार्टनर, ६ पार्टनर्स र मेडिकल पार्टनरमा न्यूरो हस्पिटल रहेका छन्।
प्रतियोगिता सञ्चालनका लागि कूल अनुमानित खर्च रु. १ करोड ३५ लाख रहेको जानकारी गराइएको छ। प्रतियोगिताको विजेतालाई नगद रु. ११ लाख, उपविजेतालाई नगद रु. ५ लाख पुरस्कारको व्यवस्था गरिएको छ। साथै उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही नगद रु. १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. ११ हजार र सर्वोकृष्ट खेलाडीलाई नगद रु. ५१ हजार पुरस्कार प्रदान गरिने छ।
दर्शकहरुको आकर्षण बढाउन थप कार्यक्रमहरु पनि राखिएका छन्। प्रत्येक दिन प्रतियोगिता शुरु हुनुभन्दा अगाडि राष्ट्रिय स्तरका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ। दर्शकहरु मध्येबाट दैनिक “Face of The Birat Goldcup” छनौट गरी ताज र उपहारको व्यवस्था गरिएको छ। टिकटक बनाई फेसबुकमा अपलोड गर्ने उत्कृष्ट टिकटकरलाई रु. १०,००० नगद पुरस्कार दिइने छ। २०० रुपैयाँको टिकट किन्दा २,००० रुपैयाँभन्दा बढीको छुटको सुविधा रहने जानकारी गराइएको छ।
पत्रकार सम्मेलनमा संयोजक रिजालले आर्थिक मन्दीका बाबजुद पनि विराट गोल्डकपको पहिचानलाई जोगाई राख्न विभिन्न चुनौतीहरुलाई सामना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले प्रतियोगितालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न सबै पक्षबाट सहयोग र सद्भावको अपेक्षा गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्