१० जेठ २०८२, शुक्रबार
Tags

कक्षा १२ को परीक्षा १० दिन पछि सारियो, अब वैशाख २१ बाट सञ्चालन हुने

रणभूमी डेस्क बुधबार, बैशाख १०, २०८२

काठमाण्डौ / राष्ट्रिय परीक्षा बोर्डले यसअघि वैशाख ११ गतेबाट सञ्चालन हुने तालिका प्रकाशित गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) अब वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ।

बोर्डले मंगलबार सूचना जारी गर्दै हाल सिर्जित विशेष परिस्थितिका कारण परीक्षा मिति संशोधन गरिएको जनाएको छ। बोर्डका अनुसार, परीक्षार्थीले गरेको अनुरोध, अभिभावकको चिन्ता तथा परीक्षा केन्द्रको व्यवस्था र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइसमेतलाई मध्यनजर गरी परीक्षा मिति परिवर्तन गरिएको हो।

अब वैशाख २१ गते बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुने र परीक्षाको संशोधित समयतालिका वैशाख १० गते बोर्डको वेबसाइट https://neb.gov.np मार्फत प्रकाशन गरिने र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन हुने बोर्डले जनाएको छ।

परीक्षा मिति संशोधन गर्दा विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति बोर्डले क्षमा याचना गरेको छ। साथै, परीक्षार्थीलाई परीक्षाको तयारीलाई निरन्तरता दिन बोर्डले अनुरोध गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले हस्ताक्षर गरेको सूचनामा परीक्षालाई मर्यादित रूपले सम्पन्न गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, स्थानीय तहहरू, केन्द्राध्यक्षहरू, शिक्षक, सुरक्षा निकायलगायत सम्पूर्ण सरोकारवालाहरूको सहयोगको अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्